धनगढी । भारतका विदेश राज्यमन्त्री किर्ती बर्धन सिंह र सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहबीच भेटघाट भएको छ । भारत सरकारको निमन्त्रणामा औपचारिक भ्रमणमा रहनु भएका सुदुरपश्चिम प्रदेशका मुख्यमन्त्री शाहको विहीबार भारतका विदेश राज्यमन्त्री बर्धनले आयोजना गर्नुभएको दिवा भोज कार्यक्रममा भेटघाट भएको हो ।

मुख्यमन्त्री शाह र विदेश राज्यमन्त्री सिंहबीच नेपाल/भारतबीचको वर्षौ देखिको धार्मिक, सांस्कृतिक, ऐतिहासिक र भौगोलिक रुपमा घनिष्ठ सम्बन्धका बारेमा कुराकानी भएको थियो । भेटमा मुख्यमन्त्री स्तरीय भारत भ्रमणले दुई देशबीचको सम्बन्ध प्रगाढ र अझ थप उचाईमा पग्ने विश्वास व्यक्त गरिएको थियो । सोही अवसरमा मुख्यमन्त्री शाहले भारत सरकारले सुदुरपश्चिम प्रदेश सरकारलाई भ्रमणको निमन्त्रणा गरेकोमा भारत सरकारलाई धन्यवाद दिए ।

भारतले नेपाललाई निरन्तर सहयोग गर्दै आईरहेको स्मरण गर्दै सुदुरपश्चिम प्रदेशको विकासमा समेत भारत सरकारले सहयोग गर्नेमा विश्वस्त रहेको र दार्चुलामा निर्माणाधिन पुल छिटोभन्दा छिटो निर्माण गर्ने, बैतडी र डल्डेधुरामा पुल निर्माण प्रक्रिया चाडो शूरु गर्ने विषयमा कुराकानी भएको थियो । साथै तिकुनियाँ–खक्रौलासम्मको सडक छिटो सम्पन्न गर्ने विषयमा छलफल भएको मुख्यमन्त्रीको सचिवालयले जनाएको छ ।

सचिवालका अनुसार मुख्यमन्त्री शाह र भारतका विदेश राज्यमन्त्री बर्धनबीच नेपालमा आधुनिक कृषि क्षेत्रको विकासका सन्र्दभमा पनि कुनाकानी भएको थियो । साथै उर्जा क्षेत्रका बारेमा पश्चिम सेती जलविद्युत आयोजना, पञ्चेश्वर जलविद्युत आयोजना, वेतन कर्णाली, फुकोट कर्णाली र मुगु कर्णालीको विषयमा कुराकानीसंगै सम्भावनाका विषयमा समेत छलफल भएको सचिवालयले बताएको छ ।

विहीबार नै मुख्यमन्त्री शाहले भारतको राजधानी नयाँदिल्ली स्थित प्रधानमन्त्री संग्राहलय, नेसनल स्किल डेभलपमेन्ट कर्पोरेसन कम्पनी र कृषि अनुसन्धान केन्द्रको अवलोकन भ्रमण गरेका छन् ।