अछाम।आगलागीबाट नष्ट भएको बान्नीगढी जयगढ क्षेत्रको सुदूरपश्चिम प्रदेशका सामाजिक विकास मन्त्री मेघराज खड्काले निरीक्षण गरेका छन्। प्रदेशकै आन्तरिक मामिला मन्त्री हिरा सार्कीको टोलीले आजगनी भएको बजारको बिहीवार निरीक्षण गरेका हुुन्। निरीक्षणका क्रममा मन्त्री खड्काले जलेर नष्ट भएका घर, पसलहरूको जानकारी लिएका छन्। क्षतिको विवरण लिनेसँगै आगजनीबाट पीडित व्यक्तिहरूसँग समेत भेटघाट गरेको बताइएको छ।

बुधवार बिहान सुदूरपश्चिम मन्त्रिपरिषद्को बैठक सकेर खड्का क्षतिको स्थलगत निरीक्षणका लागि अछाम गएका हुन्।। क्षतिको बारेमा बान्नीगढी जयगढ गाउँपालिकाका अध्यक्ष टेकबहादुर साउँद र अछाम प्रहरी प्रमुख इश्वरीप्रसाद भण्डारीले जानकारी दिएको थियो।

मङ्गलबार साँझ ७ः३० बजेतिर आगलागी भएर २३ घरमा रहेका ३५ वटा पसलहरू जलेर नष्ट हुँदा आठ करोडभन्दा बढीको क्षति भएको बान्नीगढी जयगढ गाउँपलिकाले जानकारी दिएको छ। गाउँपालिकाका अनुसार पीडितको तत्कालका लागि व्यवस्थापन भएको भए पनि पीडितको दीर्घकालीन व्यवस्थापनका लागि सरकारी र अन्य क्षेत्रसँग समन्वय भइरहेको बताएको छ।

गाउँपालिका अध्यक्ष टेकबहादुर साउँदले एक विज्ञप्ति जारी गरेर आगलागी नियन्त्रणका लागि दमकल सहयोग गर्ने मङ्गलसेन नगरपालिका, नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी, स्थानीय सहयोगीलाई धन्यवाद दिए।

आगलागी भएको जयगढ बजारमा अछाम २ का प्रतिनिधिसभा सदस्य पुष्पबहादुर शाह, नेकपा (एमाले) अछामका अध्यक्ष चन्द्र बोहरा, प्रमुख जिल्ला अधिकारी, सुरक्षा निकाय, जनप्रतिनिधि र अन्य सरोकारवालाहरूले घटनास्थलको स्थलगत अध्ययन स्थलगत अध्ययन गरिसकेकाछन्। जनप्रतिनिधि, राजनीतिक दल र अन्य अगुवाहरूले पीडितलाई सहयोग गर्नका लागि अपिल गरेका छन्।