टीकापुर । टीकापुर बहुमुखी क्याम्पसमा आज भएको स्ववियु निर्वाचनमा १ हजार २५४ मत खसेको छ । निर्वाचन समितिका अनुसार कुल १ हजार ५८५ मध्ये १ हजार २५४ मत खसेको हो ।



बिहान ८ बजेबाट सुरु भएको मतदान अपरान्ह ४ बजे सम्पन्न भएको छ । मतदान कार्य शान्तिपूर्ण रुपमा सम्पन्न भएको निर्वाचन समितिले जानकारी दिएको छ । निर्वाचन समितिका संयोजक आत्माराम अधिकारीले आजै मत गणना सुरु हुने बताएका छन ।
स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा नेविसंघ एक्लै र पाँच विद्यार्थी संगठनको संयुक्त प्यानलले भाग लिएका छन । संयुक्त प्यानलमा संघीय सरकारको नेतृत्व गरिरहेको नेकपा एमाले, प्रतिपक्षी नेकपा माओवादी केन्द्र र नेकपा समाजवादीका साथै नागरिक उन्मुक्तिको विद्यार्थी संगठन र विप्लव निकट विद्यार्थी संगठन समेत आवद्ध छन ।

संयुक्त प्यानलको नेतृत्व अनेरास्ववियुका गोविन्दप्रसाद भण्डारीले गरेका छन भने नेविसंघले अध्यक्षमा किरण साउँदलाई अघि सारेको छ । एकजना देवाशिष जंग थापाको अध्यक्षमा स्वतन्त्र उम्मेदवारी रहेको छ ।
निर्वाचनमा समानुपातिकतर्फ चारवटा विद्यार्थी संगठन छन । जसमा नेपाल विद्यार्थी संघ, अखिल क्रान्तिकारी, अनेरास्ववियु र नागरिक विद्यार्थी समाज रहेका छन ।
सो क्याम्पसमा हालसम्म नेविसंघले नै जित्दै आएको छ । नेविसंघ आफ्नो दबदबा कायम राख्न चाहन्छ भने अन्य विद्यार्थी संगठन मिलेर आफ्नो विजयी सुरुवात गर्न चाहन्छन ।












