काठमाडौं । नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीले अध्यक्षसमेत रहेकी पत्नी रञ्जिता श्रेष्ठलाई सँगै मिलेर जान आह्वान गरेका छन्। शुक्रबारबाट काठमाडौंमा सुरू भएको केन्द्रीय कार्यसमितिको बैठकलाई सम्बोधन गर्दै संरक्षक रेशम चौधरीले आफूहरूकै कारण सबै बर्बाद भइसकेको स्वीकार गरे।

उनले आफूहरूकै कारण पार्टी र प्रदेश सरकारमा पनि बर्बाद भएको बताए। उनले पत्नी रञ्जितालाई मिलेर सबैलाई ठेगान लगाउन आग्रह गरे। ‘तिम्रो र मेरो कारण सबै प्रदेश सरकार बर्बाद भयो। आजदेखि तिमी र म हात मिलाउँ। सबैको साझेदारीमा जाउँ। भोलिदेखि ती सब ठेगानमा आउँछन्,’ उनले भने।

संरक्षण चौधरीले नागरिक उन्मुक्ति पार्टीको प्रदेश र संघमा रहेका १६ सांसदकै कारण बालुवाटार प्रवेशमा सहज भएको बताए। भोलि त्यो सांसद नरहे बुढोबाहेक केही बाँकी नरहने उनको भनाइ छ।

‘१६ सांसद नभएको भए रञ्जितालाई बालुवाटारको ढोका खुला हुन्न। १६ सांसदले नै हो ‘आउ आउ कान्छी, आउ आउ छोरी, आउ आउ बहिनी भन्छन्। सांसद नभए कसले सोध्छ? उही बुढोले त हो,’ रेशमले भने।

उनले राज्यले जति प्रदेश थ्रेसहोल्ड लगाए पनि आफूहरूलाई स्वीकार हुने बताए। ‘तपाइँहरू नआतिनुस् राज्यले १५ प्रतिशत थ्रेसहोल्ड लागू गरे पनि हामीलाई स्वीकार छ। राज्यलाई हाम्रो चुनौती भयो,’ उनले भने। उनले पार्टीमा अनुशासनहीनता बढेको भन्दै त्यस्ता गतिविधि गर्नेहरूलाई कारबाही भागीदार बनाउने चेतावनी दिए। उनले सीके राउत नेतृत्वको पार्टीसँग छिट्टै एकीकरणमा जान लागेको बताएका थिए।