धनगढी । कैलालीमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)को नयाँ नेतृत्व चयनका लागि निर्वाचन भएका ९ क्याम्पसको अन्तिम मतपरिणाम सार्वजनिक भएको छ ।

सार्वजनिक परिणामअनुसार नेपाली कांग्रेसनिकट नेपाल विद्यार्थी संघ (नेविसंघ)ले पाँच क्याम्पस र माओवादी केन्द्रनिकट अनेरास्ववियु क्रान्तिकारीले चार क्याम्पसमा जितेको छ । एमाले निकट अनेरास्ववियुले भने कुनै क्याम्पसमा पनि जित्न सकेको छैन ।

नेविसंघले प्यानलसहित धनगढीको फूलबारी बहुमुखी क्याम्पसमा (भुवन जोशी), भजनीको मोहन्याल बहुमुखी (झंकर बुढा), जोशीपुरको रघुनाथ बहुमुखी क्याम्पसमा (रञ्जित परियार) र टीकापुरको वीरेन्द्र बहुमुखी क्याम्पसमा (गोपाल खत्री) धनगढीको ऐश्वर्य बहुमुखी क्याम्पसमा (दीपकराज भट्ट) जितेको छ ।

यस्तै, माओवादी केन्द्रनिकट अखिल क्रान्तिकारीले चार क्याम्पसमा जितेको छ । क्रान्तिकारीले लम्की बहुमुखी क्याम्पसमा (तपेद्र प्याकुरेल), बुलबुले बहुमुखी क्याम्पसमा (विवेक चौधरी) र सुखडको राष्ट्रिय कलेजमा (सुन्दर गौतम) खप्तड बहुमुखी क्याम्पस मसुरियामा (सागर चौधरी) जितेको हो ।

चौमाला बहुमुखी क्याम्पसको सभापतिमा भने नेविसंघका दिलबहादुर ताम्राकार र स्वतन्त्र उम्मेदवार योगेन्द्रकुमार जोशीले १२५ बराबर ल्याएका छन् । त्यहाँ नेविसंघले पुन: मतगणना हुनुपर्ने माग गरेको छ ।

घोडाघोडी बहुमुखी क्याम्पस र बर्दगोरिया कलेजमा भने तालाबन्दीका कारण स्ववियु चुनाव हुन सकेको छैन् ।