धनगढी । कैलालीको पुरैना ताल २०६४ सालमा मोहना नदीको बाढीले पुरियो। बाढीले ताल पुरेपछि स्थानीयले उक्त क्षेत्र अतिक्रमण गरे। भजनी नगरपालिका–७ लालबोझीमा रहेको पुरैना ताललाई अतिक्रमणमूक्त गर्दै पुरानै स्वरुपमा फर्काइदैछ। पाँच सय ६३ बिघा क्षेत्रफलमा फैलिएको पुरैना ताल पर्यटकीय स्थलका रुपमा विकास गरिने भएको छ। स्थानीय खेती गर्दै आएको ताल क्षेत्र पुरानै अवस्थामा फर्काउने काम हुँदैछ। सुदूरपश्चिम प्रदेशका उद्योग पर्यटन वन तथा वातावरणमन्त्री लक्ष्मण किशोर चौधरीले पुरैना ताललाई एसियाकै ठुलो ताल बनाउन सकिने बताए।

Oplus_16908288

पर्यटकीय क्षेत्रमा ल्याउन सकिने पुरैना ताल लगभग ६ सय बिघा क्षेत्रफलमा फैलिएको छ। एसियाकै सबैभन्दा ठुलो ताल हुन सक्छ। पुरैना ताललाई पर्यटकीय स्थलको रुपमा विकास गरिने चौधरीले बताए । ताल अतिक्रमण भएको झण्डै १६ वर्षपछि अतिक्रमण हटाएर पुरानै स्वरुपमा फर्काउने प्रयास भएको छ। ताल क्षेत्रको सीमाकंन र नक्सांकन गरेर वरिपरि १० फिट चौडा र पाँच फिट अग्लो माटोकै पर्खाल बनाउने काम भएको छ।

डिभिजन वन कार्यालय पहलमानपुर अन्तर्गत पर्ने उक्त ताल क्षेत्रको पुनःस्थापना गर्ने काम थालिएको छ। पुरैना ताल कैलाली जिल्लाको सबैभन्दा ठुलो ताल हुने सुदूरपश्चिम सरकारको दाबी छ। चौधरीले घजन, घोडाघोडी, टीकापुर नगरपालिका, कैलारी गाउँपालिका र धनगढी उपमहानगरपालिका क्षेत्रका लागि पर्यटकीय स्थलको रुपमा विकास गरिने बताए। अहिले गहिरो तालभन्दा पनि सिमसार बनाउन खोजेको प्रदेश सरकारले बताएको छ।

सिमसारमा बाढीले पनि क्षति कम गर्ने हुन्छ। स्थानीय र पर्यापर्यटनका जानकारहरुका अनुसार यस तालको ऐतिहासिक तथा सांस्कृतिक महत्व छ। पुरैना भनेको थारु भाषामा कमलको फूल हो। स्थानीय थारु समूदायमा आफ्नो पूजाआजामा त्यही तालको कमलको फूल र पातको प्रयोग अनिवार्य मानिन्थ्यो। विगतमा पुरैना तालको पर्यापर्यटकीय महत्व पनि धेरै थियो। सोही आधारमा प्रदेश सरकारले योजना बनाउदैछ।

सुदूरपश्चिमका पर्यटन मन्त्री चौधरीले पर्यटकीय क्षेत्रहरु र तालहरुको संरक्षण र सुरक्षाको काम थालिएको बताए। पुरैना ताल क्षेत्र बसाइँ सर्ने घुमन्ते चराहरु बास बस्ने ठाउँ पनि हो। साइबेरिया, रुसबाट आएका चरा बच्चा कोरलेर फर्किने गर्थे। ताल विनास भएपछि बासस्थान खल्बलिएको छ। पुरैना ताल विनास भएका कारण घोडाघोडी ताल क्षेत्रमा पनि आगन्तुक चराहरुको संख्या घटिरहेको छ।