धनगढी । एचआइभी एड्स सङ्क्रमण दर धेरै घटे पनि सुदूरपश्चिम प्रदेशमा अझै अनुमानित चार हजार २६५ जना एड्स सङ्क्रमित रहेका छन् । गत आर्थिक वर्ष २०८०/८१ सम्म सो सङ्ख्यामा एड्स सङ्क्रमित रहेको अनुमान गरेको प्रादेशिक स्वास्थ्य निर्देशनालयले जनाएको हो । अनुमानित सङ्क्रमितमध्ये चार हजार नौ जना पत्ता लागेको आज पत्रकार सम्मेलन गरी जनाइएको छ ।

पत्ता लागेका सङ्क्रमितमध्ये तीन हजार ७२३ जना उपचाररत छन् । उपचार गराइ रहेकामध्ये एक हजार ९२० जनामा रोग सार्ने भाइरल लोड कम भएको निर्देशनालयका एचआइभी स्रोत व्यक्ति मनोज ओझाले बताए। उनका अनुसार गत आर्थिक वर्षमा पुरुष १२९, महिला ८५ र यौन अल्पसङ्ख्यक चार गरी २१८ नयाँ सङ्क्रमित पत्ता लागेका छन् । नयाँ पत्ता लागेकामध्ये २१४ जना उपचारमा दर्ता भएको जनाइएको छ । नयाँ पत्ता लागेको सङ्ख्या अघिल्लो आर्थिक वर्षकोभन्दा कम रहेको निर्देशनालयले जानकारी दिएको छ । गत आर्थिक वर्षमा सुदूरपश्चिमका ६४ सङ्क्रमितले एड्सका कारण ज्यान गुमाएका छन् ।