सर्लाही । सर्लाहीमा म्याजिक भ्यान दुर्घटना हुँदा त्यसका चालक गम्भीर घाइते भएका छन्। गएराति करिब ११ बजे बरहथवा नयाँरोड सडक खण्डमा पर्ने मुर्तिया जंगलमा म्याजिक दुर्घटनामा परेको हो।

Oplus_16908288

बरहथवाबाट नयाँरोडतर्फ आइरहेको ना १ ज ६८१० म्याजिक दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ। म्याजिक दुर्घटना हुँदा त्यसका चालक सर्लाहीकै लालबन्दी नगरपालिका- ६ घर भएका १८ वर्षीय सुदीप बिसुङ्खे घाइते भएका छन्। उनको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।

प्रहरीको रात्रि गस्ती टोलीले म्याजिक दुर्घटना भएको अवस्थामा फेला पारेको हो। त्यतिबेला चालक अचेत अवस्थामा थिए। उनलाई उपचारका लागि प्रहरीले बरहथवा अस्पताल पुऱ्याएको छ।

म्याजिकमा अन्य यात्रु भने नरहेकाले थप मानवीय क्षति हुन नपाएको प्रहरीले जनाएको छ।