जोशीपुर । नवजीवन सहकारी संस्था लिमिटेड सहकारी शिक्षा कोष परिचालन उपसमितिको आयोजना तथा जोशीपुर सेवा केन्द्रको सहजीकरणमा जोशीपुर गाउँपालिकाको विभिन्न वडाहरूमा सहकारी सचेतना कार्यक्रम गरिएको छ ।



बचत, सम्पन्नता, समृद्धिको मूल नारा लिएर सहकारी शिक्षा कोष परिचालन उपसमितिले जिल्लाको जोशीपुर गाउँपालिका वडा नम्बर ६ को श्री राष्ट्रिय आधारभूत विद्यालय सिमरी, जोशीपुर वडा नं ५ को मैनपोखरी, वडा नं १ को कृषि हाटबजार, भजनी नगरपालिका वडा नं ६ को थापापुर स्थित उक्त सचेतना कार्यक्रम सम्पन्न गरेको जनाइएको छ ।
नवजीवन सहकारी संस्थाले आफूले आफ्ना सेयर सदस्यहरूलाई दिने सेवाको जानकारी जन्मदेखि मृत्यु सम्म हुने फाइदाहरुका बारेमा ठाउँठाउँमा गएर सचेतना कार्यक्रम गरेको हो । सचेतना कार्यक्रममा करिब २ सय भन्दा बढी सेयर सदस्य तथा सेवाग्राहीहरुको उपस्थिति रहेको जोशीपुर सेवा केन्द्र प्रमुख निर्मल बमले जानकारी दिनुभयो ।
कार्यक्रममा सहकारीले प्रदान गर्ने सुत्केरी भत्ता, औषधि उपचार खर्च, काजक्रिया खर्च, प्राविधिक शिक्षाका लागि छात्रवृत्ति, संरक्षित पूंजी कोष बाट सदस्यहरूलाई रकम फिर्ता, अधिराज्यभरका सहकारी संस्थाहरू मध्ये ५ नम्बरमा पर्ने सफल रहेको जानकारी, सजिलो कर्जा प्रक्रिया, आधुनिक प्रविधिको प्रयोग एम बैंकिङ, एटीएम, क्यूआर कोड जस्ता सेवासुविधाहरूको बारेमा आम नागरिक तथा सेयर सदस्यहरूलाई जानकारी गराइएको सेवाकेन्द्र प्रमुख बमले पश्चिम दर्पण डटकम लाई बताउनु भयो ।


















