असोज ४ कञ्चनपुर । पाकेको धान वर्षा र हुरीले खेतमै ढलेपछि भीमदत्त नगरपालिका- ११ भुजेलाकी काली लुहार लुहार चिन्तित छिन्। भदौ अन्तिम साताको अविरल वर्षासँगै आएको हुरीबतासले उनको धानखेतीमा क्षति पुर् याएको हो।

CP-HOSPITAL

उनले दुई विघा जमिनमा धान लगाएकी छिन्। ‘वर्षभरलाई खान पुग्ने धान खेतमा ढल्यो। त्यसमै पानीले गह्रा भरिभराउ छ’, उनले भनिन्, ‘धान काट्नै नसकिने अवस्था छ, आधा खेतको धान काम नलाग्ने भएको छ।’

वर्षभरिलाई खान पुग्ने धान राखेर बाँकी बिक्री गरेर उनले घरखर्च जोहो गर्दै आएकी थिइन्। ‘धान, गहुँखेती गरेर खाने र बाँकी रहेको बेचेर घरखर्च चलाउनु पर्छ’, लुहारले भनिन्, ‘अब के खाने? के बेच्ने?’

भीमदत्त नगरपालिका- ११ भुजेलाकै मनोधरी लुहारसँग दुई कट्ठामात्र जमिन छ। त्यसको उब्जाउले खानलाई नपुग्ने हुनाले उनी अधियाँ गर्छन्। गाउँमै अधियाँ गरेको १० कट्ठा जमिनको धानमा क्षति पुगेपछि उनलाई के खाने भन्ने चिन्ताले पिरोल्न थालेको छ। ‘हुरीले ढलेर खेतमै पानीले धान कुहिसक्यो। न आफ्नो खेतको धान बच्यो, न अधियाँ गरेको खेतकै’, उनले भने, ‘किनेर खान पनि पैसा छैन।’

वर्षापछि आएको बाढी र हुरीबतासले कञ्चनपुरमा धानमा क्षति पुर् याएको छ। कृषि ज्ञान केन्द्रका सूचना अधिकारी हरिदत्त जोशीका अनुसार दोधारा चाँदनी, भीमदत्त, पुनर्वास, बेलौरीलगायत क्षेत्रका बालीमा बढी क्षति पुगेको छ।

स्थानीय तहले क्षतिको यकिन विवतरण सङ्कलन गरिरहेको छन्। जिल्लाका विभिन्न ठाउँमा गरेर करिब १० प्रतिशत धानखेतीमा क्षति पुगेको कृषि ज्ञान केन्द्रको अनुमान छ। ‘डुबान र कटानले बालीमा क्षति पुगेको छ। यकिन विवरण प्राप्त भएको छैन’, उनले भने, ‘निरीक्षणका क्रममा दोधारा चाँदनीलगायत क्षेत्रमा पटानले खेत पूरै बगर बनाएको पाइएको छ।’