असोज ३, काठमाण्डौ । खाद्य, व्यवस्था तथा व्यापार कम्पनीले आज (बिहीबार)बाट सहुलियत पसल सञ्चालनमा ल्याएको छ। दसैं, तिहार तथा छठलाई लक्षित गरी कम्पनीले सहुलियत पसल सञ्चालनमा ल्याएको हो।



सहुलियत पसलमा कम्पनीले खरिद गरेका खाद्य वस्तुहरू पाइन्छ। त्यसका साथै दुग्ध विकास संस्थानले उत्पादन गरेको घ्यू र साल्ट ट्रेडिङले बिक्री वितरण गर्दै आएको नुन पनि सहुलियत पसलमा राखिएको छ।
सहुलियत पसलमा चामल, दाल, नुन, तेल, चिनी, चियापत्ती, घ्यू, जिरा, चिउरा, पिठो लगायतका २८ प्रकारका खाद्य वस्तु बिक्रीमा राखिएको छ।त्यस्तै, सहुलियत पसलमा ग्राहकले ग्यास सिलिण्डर पनि बिक्रीमा राखेको छ। उक्त वस्तुमा प्रतिकिलो न्यूनतम पाँच रूपैयाँदेखि अधिकतम दश रूपैयाँसम्म छुट दिइएको छ।
चामलमा प्रतिकिलो पाँच रूपैयाँदेखि सात रूपैयाँसम्म छुट दिइएको छ। कर्णालीको सिमीमा प्रतिकिलो सात रूपैयाँ छुट दिइएको छ। चिनीमा पाँच रूपैयाँ, खानेतेलमा सात रूपैयाँ र सबैभन्दा धेरै घ्यूमा प्रतिकिलो १० रूपैयाँ छुट दिइएको छ। त्यस्तै, चियापत्ती, नुन र ग्यासमा छुट दिइएको छैन।
कम्पनीले एक साताभित्र आफ्नो ४२ जिल्लाका ६१ वटा बिक्री केन्द्रमा पनि सहुलियत पसल सञ्चालन गरिसक्ने बताएको छ।
कम्पनीका अनुसार काठमाडौं चक्रपथभित्र होम डेलिभरीको व्यवस्था समेत गरेको छ। त्यसमा पाँच हजार मूल्यभन्दा माथिका सामान खरिद गर्ने ग्राहकले डेलिभरी शुल्क तिर्नु पर्दैन। उक्त सहुलियत पसल माघ २ गतेसम्म सञ्चालन हुनेछ।














