धनगढी । नेपाल पत्रकार महासंघ कैलाली शाखाले श्रमजीवी पत्रकारको तलब समयमै दिन कैलालीमा सञ्चालित आम सञ्चार माध्यमहरू लाई अपिल गरेको छ । शाखाले निरन्तर काम गर्दै आइरहनु भएका सञ्चार कर्मीलाई सम्बन्धित सञ्चार गृहले उहाँहरूले पाउनुपर्ने तलब रकम समयमा नपाएको गुनासो आउन थालेपछि सोमबार एक वक्तव्य जारी गर्दै अपिल गरेको हो ।

नेपाल पत्रकार महासंघ कैलाली शाखाका अध्यक्ष हिमालय जोशीद्वारा जारी अपिल वक्तव्यमा भनिएको छ, “पत्रकार महासंघ पत्रकारका समस्या, सुरक्षा लगायतका बारेमा वकालत गर्दै आइरहेको छ । पछिल्लो समय कैलाली जिल्लाका विभिन्न सञ्चार माध्यममा कार्यरत पत्रकारहरूले लामो समयदेखि पारिश्रमिक नपाएको गुनासो नेपाल पत्रकार महासंघ कैलाली शाखामा आएको छ ।

देशभर नै विभिन्न क्षेत्रमा आर्थिक मन्दी देखिएकाले यसबाट सञ्चारमाध्यम पनि अछुतो छैनन् तर पनि लामो समयसम्म काम गर्दा पनि पारिश्रमिक नपाउँदा श्रमजीवी

पत्रकारहरूलाई घर खर्च चलाउन पनि गाह्रो भइरहेको छ । निरन्तर काम गर्दै आइरहनु भएका सञ्चार कर्मीलाई सम्बन्धित सञ्चार गृहले उहाँहरूले पाउनुपर्ने तलबको व्यवस्था गरिदिन अपिल गर्दछौँ ।

यस्तै, शाखाले अपिलमार्फत निरन्तर काम गर्दै आउनु भएका सञ्चार कर्मीहरूले आफूले पाउनु सेवा कहिले देखि नपाएकोबारे महासंघमा जानकारी गराउन पनि आग्रह गरेको छ भने श्रमजीवी पत्रकारले पाउने तलब भुक्तानी नगरे महासंघ निरन्तर श्रमजीवी पत्रकारका पक्षमा कदम चाल्ने पनि जानकारी गराएको छ ।