भदौ ११, काठमाण्डौ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल स्तरोन्नतिका लागि दैनिक १० घण्टा बन्द गरिँदा आन्तरिक र अन्तर्राष्ट्रिय गरी करिब ३३ प्रतिशत उडान कटौती हुने भएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले २३ कात्तिकदेखि १८ चैतसम्म दैनिक १० घण्टा विमानस्थल बन्द गरेर धावनमार्ग, ट्याक्सी वे, एप्रोनलगायत विस्तार गर्न लागेको हो ।

धावनमार्ग र ट्याक्सी वे विस्तारका क्रममा राति १० बजेदेखि बिहान आठ बजेससम्म विमानस्थल बन्द हुने त्रिभुवन विमानस्थलका महाप्रबन्धक जगन्नाथ निरौलाले जानकारी दिए । सन् २०२० बाट सुरु भएको धावनमार्ग, ट्याक्सी वे र एप्रोन विस्तारको काम सन् २०२५ भित्रै सम्पन्न गर्ने प्राधिकरणको लक्ष्य छ ।

प्राधिकरणले अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीलाई भैरहवाको गौतम बुद्ध र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट ४० प्रतिशत उडान गर्ने गरी पुनर्तालिकीकरण गर्न परिपत्र गरेको नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)का सूचना अधिकारी ज्ञानेन्द्र भुलले बताए । दैनिक चार उडान गर्नेले कम्तीमा ५० प्रतिशत र तीन उडान गर्नेले २५ प्रतिशत उडान भैरहवा वा पोखरा सार्नैपर्ने उनको भनाइ छ । ‘दैनिक एक–दुई उडान गर्ने वायुसेवालाई त्यति समस्या नहोला, तैपनि दुईवटा उडान गर्ने वायुसेवाले सातामा केही उडान भैरहवा वा पोखरा सार्नुपर्ने अवस्था आउन सक्छ,’ उनले भने, ‘चार्टर उडान र अतिरिक्त उडानहरू पनि त्रिभुवन विमानस्थलमा हुनेछैनन् ।’

आन्तरिक उडान गर्ने वायुसेवाले पनि निर्माण अवधिको समयमा गर्ने फ्लाइट सार्नुपर्ने त्रिभुवन विमानस्थल कार्यालयले जनाएको छ । आन्तरिक वायुसेवाले पनि विस्तारको अवधिभर क्षेत्रीय (प्रादेशिक) उडान गर्ने गरी सेड्युल बनाउनुपर्ने त्रिभुवन विमानस्थलका महाप्रबन्धक निरौलाले बताए । उनले भने, ‘अझै निर्णय भइसकेको त छैन, लुम्बिनीबाट कोशीमा, कोशीबाट गण्डकीमा, मधेशबाट सुदूरपश्चिम उडान गर्नुपर्ने हुन सक्छ । बिहान ६–८ बजेका फ्लाइट मात्रै म्यानेज गर्नुपर्ने हो, दिउँसो पहिलेकै अवस्थामा उडान भइहाल्छन् ।’

अहिले त्रिभुवन विमानस्थलमा बिहान ६ बजेदेखि तीन बजेसम्म दैनिक २१ घण्टा उडान हुँदै आइरहेको छ । यो अवधिमा करिब एक सय १० अन्तर्राष्ट्रिय र दुई सय ४० आन्तरिक उडान हुने महाप्रबन्धक निरौलाले बताए । त्यसबाहेक हेलिकोप्टर उडान र चार्टर उडान पनि हुँदै आइरहेका छन् । अब अप्रेसन आवर सात घण्टा घटेर १४ घण्टामा सीमित भएपछि उडान कटौती नगरी नहुने उनको भनाइ छ । भैरहवा र पोखरामा उडान स्थानान्तरण गर्नुको विकल्प नरहेको उनले बताए ।

‘त्रिभुवन विमानस्थल कार्यालयले निर्माण अवधिमा अहिलेको ट्राफिक म्यानेज गर्न नसकिने भनेको छ,’ सूचना अधिकारी भुलले भने, ‘हामीले सोहीअनुरूप उडान रि–सेड्युल गर्न तथा भैरहवा र पोखरामा उडान राख्न अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीलाई सर्कुलर गरिसकेका छौँ ।’ अहिले त्रिभुवन विमानस्थलले दिएको स्लटमा थप गर्न सकिने स्थिति नरहेको उनको भनाइ छ । उनले भने, ‘यदि रातिको उडान दिउँसो एडजस्ट गर्न खोजियो भने उडानको चाप बढेर हवाई सुरक्षामै समस्या निम्तिन सक्छ ।’

समर सेड्युलअनुसार त्रिभुवन विमानस्थलमा राति १० बजेदेखि बिहान आठ बजेसम्म चाइना साउर्दन, कुवेत, जजिरा, कतार, एयर अरेबिया, फ्लाई दुबई, टर्किस, क्याथे प्यासेफिक, नेवानि, हिमालय, मलेसियन, सिंगापुर, थाइलगायतले उडान भर्दै आएका छन् । यीमध्ये दैनिक एक–दुई वा सातामा केही उडान गर्ने वायुसेवाले उडानतालिका फेरबदल गर्नुपर्ने हुन्छ । दैनिक तीन–चारवटा उडान गर्ने वायुसेवाले भैरहवा र पोखरामा उडान स्थानान्तरण गर्नुपर्ने हुन्छ । अहिले त्रिभुवन विमानस्थलबाट कतार एयरवेज, एयर अरेबिया, फ्लाई दुबई, एयर इन्डिया, नेपाल वायुसेवा निगम, हिमालय एयरलाइन्सले चारभन्दा बढी उडान गर्दै आइरहेका छन् । यी वायुसेवा कम्पनीले कम्तीमा ५० प्रतिशत उडान स्थानान्तरण गर्नुपर्ने हुन्छ ।

अहिलेको टर्मिनल भवन ४० वर्षअघि निर्माण गरिएको हो, जुन दिन–प्रतिदिन साँघुरो बन्दै छ । ‘त्रिभुवन विमानस्थलको ह्यान्डलिङ क्षमता वार्षिक ९० लाख यात्रु हो, अहिले नै ९० लाख यात्रु पुगिसकेका छन्,’ भुलले भने, ‘सात घण्टा उडान अवधि घट्दा पनि त्रिभुवन विमानस्थलबाटै उडान म्यानेज गर्न खोज्नु भनेको हवाई सुरक्षामा सम्झौता गर्नु हो ।’ तर, आन्तरिक तथा अन्तर्राष्ट्रिय वायुसेवाका प्रतिनिधिले त्रिभुवन विमानस्थलमै उडान व्यवस्थापन गर्न क्यानसँग आग्रह गर्दै आइरहेका छन् ।

  • क्यानका सूचना अधिकारी ज्ञानेन्द्र भुल भन्छन्–

अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीलाई भैरहवा र पोखरामा ४० प्रतिशत उडान सार्ने गरी विन्टर सेड्युल पेस गर्न परिपत्र गरिसकेका छौँ । दैनिक चार उडान गर्नेले कम्तीमा ५० प्रतिशत र तीन उडान गर्नेले २५ प्रतिशत उडान भैरहवा वा पोखराबाट गर्नुपर्छ । दुई उडान गर्नेले पनि सातामा केही उडान बाहिरबाट गर्नुपर्ने हुन सक्छ ।

  • सफल होला १६ लाख पर्यटक भित्र्याउने लक्ष्य ? 

सरकारले यस वर्ष १६ लाख विदेशी पर्यटक भित्र्याउने लक्ष्य लिएको छ । तर, यही वर्ष पाँच महिना त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल १० घण्टा बन्द हुने भएको छ । जसले उडान थप्नेभन्दा पनि कटौती हुने सम्भावना देखिएको छ । पर्यटक भित्रिने मुख्य गेटवे दैनिक १० घण्टा बन्द हुने हुँदा १६ लाख पर्यटकको लक्ष्य प्राप्त गर्न मुस्किल पर्ने देखिन्छ । सन् २०२३ मा विभिन्न देशबाट १० लाख १४ हजार पर्यटक नेपाल भ्रमणमा आएका थिए । तर, पोखरा र भैरहवामा वैकल्पिक विमानस्थल सञ्चालनमा रहेको हुनाले १६ लाख पर्यटक भित्र्याउने लक्ष्यमा असर नपर्ने त्रिभुवन विमानस्थलका महाप्रबन्धक तिवारीको विश्वास छ । उनले भने, ‘काठमाडौं झरेर भैरहवा र पोखरा जाने पर्यटक–यात्रुहरू हुन्थे, उनीहरू उतै झर्लान्, कतिपय भैरहवा र पोखरा अवतरण गरेर काठमाडौं आउलान्, काठमाडौं आउन आन्तरिक उडान राम्रो छ, वैकल्पिक विमानस्थल हुनाले अत्तालिनुपर्ने अवस्था छैन ।’

  • भैरहवा र पोखरा उडान सिफ्ट गर्ने अवसर

२ जेठ ०७९ मा सञ्चालनमा आएको गौतम बुद्ध र १७ पुस ०७९ मा सञ्चालनमा आएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा नियमित अन्तर्राष्ट्रिय उडान हुन सकेको छैन । प्राधिकरणले ल्यान्डिङ, पार्किङ, नेभिगेसन, सुरक्षा र ग्राउन्ड ह्यान्डलिङ सेवा शुल्कमा छुट दिँदा पनि अन्तर्राष्ट्रिय वायुसेवा भैरहवा र पोखरामा उडान गर्न आकर्षित भएका छैनन् । सुरुवाती समयमा कुवेतको जजिरा एयरवेजले भैरहवामा नियमित उडान गरे पनि विविध समस्या देखाएर उडान रोकेको छ ।

भैरहवा र पोखरा विमानस्थलमा अन्तर्राष्ट्रिय उडानहरू सिफ्ट गर्ने उपयुक्त समय आएको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक प्रताप तिवारीले बताए । ‘त्रिभुवन विमानस्थल १० घण्टा बन्द हुँदै छ, त्यसमाथि उडान थप गर्ने स्पेस पनि छैन,’ उनले भने, ‘अब भैरहवा र पोखरा विमानस्थल सञ्चालनको विकल्प पनि छैन ।’ प्रधानमन्त्री कार्यालयले पोखरा र भैरहवा विमानस्थल सञ्चालनसम्बन्धी कार्यविधि बनाएर स्वीकृतसमेत गरेको छ । जसमा नेपाल वायुसेवा निगम (नेवानि)को ग्राउन्ड ह्यान्डलिङ सेवामा ७५ प्रतिशत छुट, हवाई टिकटमा भ्याट छुट, यात्रुसेवा शुल्कमा छुट, हवाई इन्धनमा छुट, श्रम डेस्क स्थापनालगायत छुट, सहुलियत तथा सेवाहरू उपलब्ध गराउने उल्लेख छ । मन्त्रिपरिषद्को निर्णयबमोजिम आयल निगमले हवाई इन्धनमा प्रतिकिलोलिटर एक सय अमेरिकी डलर छुट दिने निर्णय गरिसकेको छ ।