साउन २८, काठमाण्डौ । प्रमुख प्रतिपक्ष माओवादीमा विचार, नीति र कार्यक्रमबारे छलफल भएको छ । पार्टी कार्यालय पेरिसडाँडामा जारी स्थायी समिति बैठकमा नेताहरूले नीति, कार्यक्रममा केन्द्रित भएर धारणा राखेका हुन् ।पार्टी उपाध्यक्ष एवं प्रचार विभाग प्रमुख अग्नि सापकोटाका अनुसार नेताहरूले स्थानीय तहलाई आधार बनाएर समाजवादको आधार तयार पार्नुपर्ने, जनताका समस्या र मुद्दामा केन्द्रित भएर जनपरिचालन कार्यक्रम ल्याउनुपर्ने विषय उठाएका छन् ।

‘नीति, कार्यक्रममा केन्द्रित भएर छलफल भइरहेको छ । स्थानीय तहलाई आधार बनाएर समाजवादको आधार तयार पार्नुपर्छ । जनताका समस्या र मुद्दामा केन्द्रित भएर जनपरिचालनको कार्यक्रम ल्याउनुपर्छ । नयाँ शक्ति हासिल गर्नका लागि नयाँ कार्यक्रम चाहिन्छ भन्नेकुरा उठेको छ,’ सापकोटाले भने ।

सामाजिक न्यायसहित सुशासनको कार्यक्रमबाट सरकार पछि हट्न खोजेको भन्दै नेताहरूले खबरदारी गर्नुपर्नेमा जोड दिएका छन् । ‘सामाजिक न्यायसहितको सुशासन र समृद्धिको यात्राबाट सरकार पछि हट्दै छ । त्यसलाई लागू गर्न खबरदारी गर्नुपर्छ भन्ने कुरा पनि उठेको छ,’ उनले भने । उनीहरूले वैज्ञानिक मापदण्ड बनाएर नेता तथा कार्यकर्ताको मूल्यांकनको विधि बसाल्नुपर्नेमा पनि जोड दिएका छन् । जनतासँग एकाकार हुँदै अगाडि बढ्नुपर्नेमा सुझाव नेताहरूको छ ।

बैठकमा समाजवादी/वामशक्तिबीच एकता, विशेष महाधिवेशन र महाधिवेशनबारे नेताहरूले आ–आफ्ना विचार राखेका छन् । केही नेताहरूले समाजवादी/वाम शक्तिबीच एकता गरेर जानुपर्नेमा जोड दिएका थिए भने केहीले विशेष महाधिवेशनमा जानुपर्ने धारणा राखेका थिए । नेतृत्वमा उत्तराधिकारी बनाएर जानुपर्ने विषयमा समेत बैठकमा उठेको छ । आइतबारको बैठकमा स्थायी कमिटीमा १४ नेताले धारणा राखेका थिए ।

  • छलफल नभएको विषयमा प्रचार भयो

बैठकमा छलफल नै नभएको विषयमा अनावश्यक प्रचार भएको भन्दै माओवादी प्रवक्ता सापकोटाले आपत्ति जनाएका छन् । बंगलादेशको घटनाबारे सामान्य चर्चा भएको र बाहिर प्रचार भएजस्तो अध्यक्ष प्रचण्डले केही पनि नभनेको उनले बताए । ‘आफ्नो प्रस्तुतिका क्रममा अध्यक्षले बंगलादेशको घटनाक्रमबारे सामान्य चर्चा मात्रै गर्नुभएको हो,’ उनले भने, ‘अरू कुनै देशको चर्चा अध्यक्षले गर्नुभएको छैन । बढाइचढाइ भ्रामक प्रचार भएकोमा खण्डन गर्दछु ।’ बैठकमा प्रचण्डले ‘अमेरिकी षड्यन्त्रमा शेख हसिना र आफूलाई सत्ताच्युत गरेको’ भन्ने अभिव्यक्ति दिएको भन्दै केही मिडियामा समाचार आएको थियो ।

  • शर्माको १४ पेजको लिखित प्रस्ताव

माओवादी उपमहासचिव जनार्दन शर्माले स्थायी समिति बैठकमा १४ पेज लामो लिखित प्रस्ताव राखेका छन् । उनले पार्टी साँघुरिँदै जानुको जिम्मेवारी मूल नेतृत्व र नेतृत्वको टिमले लिनुपर्ने बताएका छन् । ‘०६४ को चुनावमा १२० सिटमा हामीलाई बहुमत दिने मतदाता र निर्वाचन क्षेत्र प्रायः सबै हामीबाट खोसिएका छन् । हामी शून्यतर्फ उन्मुख छौँ । पहिलो संसदीय निर्वाचनमा हामीलाई प्राप्त ३१ लाख मतदाताको अभिमत अहिले खस्किरहेको छ । विडम्बना के छ भने, आज पार्टीमा जो जति छन्, ती सबै असन्तुष्टि बोकेर बाँचेका छन् । यसको जिम्मेवारी अहिलेको मूल नेतृत्व र नेतृत्वको टिमले लिन किन आनाकानी गरिरहेका छौँ ?’ शर्माले प्रश्न गरेका छन् ।

शान्ति प्रक्रियायता पटक–पटक सरकारको नेतृत्व र सरकारका सहभागी भए पनि उपलब्धिहरू संस्थागत गर्न नेतृत्व चुकेको शर्माले बताएका छन् । नेतृत्व चुकेकै कारणले बलिदान, पार्टी र नेतृत्वले खेलेको ऐतिहासिक भूमिका र जनताको योगदानबाट प्राप्त उपलब्धिहरू आखिर केका लागि भन्ने प्रश्न उठ्न पुगेको शर्माले औँल्याएका छन् । उनले नेतृत्व हस्तान्तरण, पुस्तान्तरण वा केन्द्रीय कमिटी भंग गरी अध्यक्ष प्रचण्डको संयोजकत्वमा महाधिवेशन आयोजक समिति बनाई महाधिवेशनमार्फत प्रत्यक्ष निर्वाचनबाट नयाँ नेतृत्व चयन गर्ने गरी मिति तोक्ने सुझाव दिएका छन् ।