साउन २२, कैलाली । सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री र मन्त्रीहरूले पद तथा गोपनीयताको शपथ लिएका छन् । प्रदेश प्रमुख नजिर मियाँले नवनियुक्त मुख्यमन्त्री कमलबहादुर शाहलाई सोमबार पद तथा गोपनीयताको शपथ गराए । शपथलगत्तै मुख्यमन्त्री शाहले तीन राज्यमन्त्रीसहित १० सदस्यीय मन्त्रिपरिषद् गठन गरेका छन् ।

मुख्यमन्त्रीको शपथपछि मन्त्री र राज्यमन्त्रीले पद तथा गोपनीयताको शपथ लिएका छन् । प्रदेशमा मुख्यमन्त्री कार्यालयसहित सात मन्त्रालय छन् । भागबन्डा मिलाउन तीन राज्यमन्त्री थप गरिएको छ । मुख्यमन्त्री शाहले कांग्रेसबाट दुई, एमालेबाट तीन र नागरिक उन्मुक्तिबाट एक मन्त्री नियुक्त गरेका छन् । त्यस्तै, कांग्रेसबाट दुई र एमालेबाट एक राज्यमन्त्री नियुक्त गरिएको छ । कांग्रेसबाट मुख्यमन्त्रीसहित बहादुरसिंह थापा आर्थिक मामिला र मेघराज खड्का सामाजिक विकासमन्त्री बनेका छन् ।

एमालेले दीर्घबहादुर सोडारी नेतृत्वको अघिल्लो सरकारकै मन्त्री दोहोर्‍याएको छ । एमालेबाट सुरेन्द्रबहादुर पालले भौतिक पूर्वाधार विकास, हिरा सार्कीले आन्तरिक मामिला तथा कानुन र वीरबहादुर थापाले भूमि व्यवस्था कृषि तथा सहकारीमन्त्रीको जिम्मेवारी पाएका छन् । नागरिक उन्मुक्ति पार्टीसमेत प्रदेश सरकारमा सहभागी भएको छ । नागरिक उन्मुक्तिबाट लक्ष्मणकिशोर चौधरी उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री बनेका छन् ।

दुईजना महिलालाई राज्यमन्त्री बनाएर मन्त्रिपरिषद्मा महिलाको प्रतिनिधित्व गराइएको छ । कांग्रेसबाट प्रकाशबहादुर बम आर्थिक मामिला राज्यमन्त्री र सरस्वती खड्का सामाजिक विकास राज्यमन्त्री बनेका छन् । एमालेकी निर्मलादेवी साउदले भौतिक पूर्वाधार विकास मन्त्रालयको राज्यमन्त्रीमा शपथ लिएकी छिन् । कांग्रेस संसदीय दलका नेता शाह आइतबार मुख्यमन्त्री नियुक्त भएका थिए ।