साउन १३, काठमाण्डौ । नवनियुक्त बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामाले साउन १५ मा विश्वासको मत लिने भएका छन् । मुख्यमन्त्री लामाले साउन १५ गते विश्वासको मत लिन प्रदेशसभा सचिवालय हेटौँडामा पत्र दर्ता गराएका हुन् ।



एमालेको सर्मथनमा साउन ८ मा मुख्यमन्त्री नियुक्त भएका नेपाली कांग्रेसका लामाले ३० दिन भित्र सांसदबाट विश्वासको मत लिइसक्नुपर्ने व्यवस्था रहेको छ । उनले दर्ता गरिएको पत्र अनुसार प्रदेशसभाका सभामुख भुवनकुमार पाठकले साउन १५ गते दिउँसो ३ बजेका लागि संसद् बैठक आह्वान गरेका छन् । मुख्यमन्त्री लामाले नेपालको संविधानको धारा १६८ को उपधारा (४) तथा प्रदेश सभा नियमावली २०७४ को नियम १४३ को उपनियम (१) बमोजिम सांसदबाट विश्वासको मत लिने तयारी गरेका हुन् ।
मुख्यमन्त्री लामालाई एमालेका २७ र कांग्रेसका ३७ सांसद गरी ६४ जनाको समर्थन रहेको छ । पहिलो पटक कांग्रेसबाट सरकारको नेतृत्व लिएका उनले शनिबार मात्रै १४ सदस्यीय मन्त्रिपरिषद् बनाएर सरकारलाई पूर्णता दिएका थिए ।













