वैशाख १८, काठमाण्डौ । आज मे १, अर्थात् अन्तर्राष्ट्रिय मजदुर दिवस, विश्वभर श्रमिक अधिकारको सम्झना र सम्मान गर्ने दिनका रूपका विश्वभर विभिन्न् कार्यक्रम गरि मनाइदैछ । नेपालमा पनि विभिन्न कार्यक्रम आयोजना भइरहेका छन् । सरकारले आज सार्बजनिक बिदा समेत दिएको छ ।

CP-HOSPITAL

मजदुर दिबस मनाइरहँदा  नेपालमा भने यो दिन उत्सवभन्दा बढी यथार्थको कठोर चित्र देखाउने दिन बन्ने गरेको छ। नेपालमा हाल औपचारिक र अनौपचारिक गरी करिब १ करोड १७ लाख मजदुर रहेको अनुमान छ। यसमध्ये सबैभन्दा ठूलो हिस्सा अनौपचारिक क्षेत्रमा छ, जहाँ रोजगारीको सुरक्षा, न्यूनतम तलब, सामाजिक सुरक्षा जस्ता आधारभूत अधिकारहरू अझै सुनिश्चित हुन सकेका छैनन्। नेपालमा कृषिक्षेत्र अझै पनि नेपालका श्रमिकहरूको सबैभन्दा ठूलो आधार हो। करिब ६० लाखभन्दा बढी मानिस कृषि क्षेत्रमा संलग्न रहेको अनुमान गरिन्छ। तर परम्परागत खेती, न्यून आम्दानी, मौसममा निर्भरता र बजारको अभावले कृषिमा श्रम गर्नेहरू गरिबीको चक्रबाट बाहिर निस्कन सकेका छैनन्।

यस्तै कृषि पछि निर्माण क्षेत्रमा मात्र करिब २० लाख मजदुर कार्यरत छन्। सडक, पुल, भवन निर्माणमा दिनरात खटिने यी श्रमिकहरू जोखिमपूर्ण वातावरणमा काम गर्छन्, तर बीमा, स्वास्थ्य सुरक्षा र स्थायी आम्दानीको अभावले उनीहरूको जीवन अस्थिर छ। औद्योगिक, सेवा, यातायात, घरेलु कामदार लगायत अन्य क्षेत्रमा पनि लाखौं श्रमिकहरू संलग्न छन्। तर अधिकांशको अवस्था उस्तै छ—अस्थायी काम, न्यून पारिश्रमिक र श्रम अधिकारको कमजोर कार्यान्वयन।

‘आठ घण्टा काम, आठ घण्टा आराम र आठ घण्टा मनोरञ्जन’ भन्ने श्रमिक आन्दोलनको ऐतिहासिक नारा आज पनि प्रासंगिक छ। तर नेपालका धेरै मजदुरका लागि यो नारा केवल कागजमै सीमित देखिन्छ। धेरैजसो मजदुरहरू दैनिक १०–१२ घण्टासम्म काम गर्न बाध्य छन्, तर पनि न्यून तलबका कारण जीवन धान्नै मुस्किल छ। गास, बास र कपास जस्ता आधारभूत आवश्यकतामा पनि मजदुरहरू संघर्षरत छन्। बढ्दो महँगी, अस्थिर आम्दानी र सामाजिक सुरक्षाको अभावले श्रमिक वर्गलाई झन् कमजोर बनाएको छ।

शहरमा बसोबास गर्ने मजदुरहरूका लागि घरभाडा ठूलो बोझ बनेको छ भने गाउँमा रोजगारीको अभावले जीवन धान्न गाह्रो भएको छ। नेपालमा बेरोजगारीको समस्या पनि गम्भीर छ। रोजगारीको अभाव र कम आम्दानीका कारण हरेक वर्ष लाखौं युवा विदेशिन बाध्य छन्। वैदेशिक रोजगारी धेरैका लागि विकल्प बनेको छ, तर त्यहाँ पनि जोखिम, शोषण र असुरक्षा कम छैन। यसरी, मजदुर दिवस मनाइरहँदा नेपालका श्रमिकहरूको वास्तविकता भने अझै चुनौतीपूर्ण छ।

नीतिगत सुधार, श्रम कानूनको कडाइका साथ कार्यान्वयन, र सामाजिक सुरक्षा विस्तार बिना श्रमिकहरूको जीवनस्तर सुधार हुने देखिँदैन। मजदुर दिवस केवल शुभकामना आदानप्रदानको दिन होइन, श्रमिकहरूको अधिकार सुनिश्चित गर्ने प्रतिबद्धता दोहोर्‍याउने अवसर हो। जबसम्म मजदुरले सम्मानजनक पारिश्रमिक, सुरक्षित कामको वातावरण र आधारभूत जीवनयापनको ग्यारेन्टी पाउँदैनन्, तबसम्म ‘मजदुर दिवस’ को अर्थ अधुरै रहनेछ।