वैशाख ९ ,काठमाडौँ । गृहमन्त्री सुदन गुरुङले आफ्नो पदबाट राजीनामा दिनुभएको छ। २०८२ चैत १३ गतेदेखि गृह मन्त्रालयको जिम्मेवारी सम्हाल्दै आउनुभएका गुरुङले पछिल्लो समय नागरिक स्तरबाट आफ्नो शेयरलगायतका विषयमा उठेका प्रश्न र जनचासोलाई गम्भीर रूपमा लिँदै पदबाट राजीनामा दिनुभएको हो।

मन्त्री गुरुङले आफ्नो राजिनामा पत्र प्रधानमन्त्री वालेन्द्र शाहसमक्ष पेस गर्नुभएको जानकारी प्रधानमन्त्रीका सञ्चार सहजकर्ता सुरेन्द्र बजगाईले गोरखापत्र अनलाइनलाई दिनुभयो । गृह मन्त्रालयको जिम्मेवारी हालका लागि प्रधानमन्त्रीले नै सम्हाल्नु हुने छ।

आफ्नो राजीनामाका सम्बन्धमा स्पष्ट पार्दै मन्त्री गुरुङले पदभन्दा नैतिकता र जनविश्वास ठुलो भएको बताउनुभएको छ। आजको समयमा सुशासन, पारदर्शिता र जवाफदेहिताको माग गर्दै उठिरहेको ‘जेनजी’ आन्दोलनले सार्वजनिक जीवन स्वच्छ हुनुपर्ने र नेतृत्व उत्तरदायी हुनुपर्ने सन्देश दिएको उहाँको भनाइ छ। ४६ जना दाजुभाइ तथा दिदीबहिनीको रगत र बलिदानीको जगमा बनेको सरकारमाथि प्रश्न उठ्दा त्यसको निर्धक्क जवाफ दिनु आफ्नो नैतिक कर्तव्य भएको उहाँले उल्लेख गर्नुभएको छ।

आफूसँग सम्बन्धित विषयमा निष्पक्ष छानबिन होस् र पदमा रहँदा स्वार्थको द्वन्द्व नदेखियोस् भन्ने उद्देश्यले राजीनामा दिएको उहाँले स्पष्ट पार्नुभएको छ। मन्त्री गुरुङले आफूले नैतिक जिम्मेवारी निर्वाह गरेको बताउँदै परिवर्तनका लागि सबै पक्ष सत्य, इमानदारी र आत्मशुद्धिको बाटोमा उभिनुपर्नेमा जोड दिनुभएको छ।

राजीनामा पश्चात् सञ्चारकर्मी र आम नागरिकलाई अपिल गर्दै उहाँले कतिपय मिडियाकर्मीको शेयर लगानीका विषयहरू पनि क्रमशः बाहिर आउने बताउनुभयो। रामराज्यको चाहना राख्नेहरूले त्याग र नैतिक साहस देखाउनुपर्ने भन्दै उहाँले पदबाट बाहिरिएर छानबिनलाई सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ।