कैलाली । प्रतिनिधिसभाको निर्वाचन नजिकिदै गर्दा कैलाली-२ मा नेकपा एमालेले बर्दगोरिया गाउँपालिका वडा नं. ३ मा घरदैलो तथा जनता भेटघाट कार्यक्रम सञ्चालन गरेको छ । अभियानका क्रममा टोल–टोलमा पुगेर मतदातासँग प्रत्यक्ष भेटघाट गर्दै पार्टीको नीति, सिद्धान्त र विकासका एजेन्डाबारे जानकारी गराउदै उम्मेदवार सुर्य बहादुर थापाले मत मागेका छन ।

घरदैलोका क्रममा थापाले विशेष गरी सुकुम्बासी समस्या समाधानलाई आफ्नो पहिलो प्राथमिकता बनाउने प्रतिबद्धता जनाएका छन् । उनले लामो समयदेखि जग्गाको स्वामित्व नपाएर असुरक्षित जीवन बिताइरहेका सुकुम्बासी परिवारको व्यवस्थापन आफू निर्वाचित भएलगत्तै सुरु गर्ने बताएका हुन् ।

घरदैलोमा सहभागी उम्मेदवारले आफुले यस क्षेत्रलाई शिक्षा ,स्वास्थ्य र पुर्वाधारका हिसाब ले बिकास गर्न खोजेको बताउनु भयो ।  उम्मेदवार थापाले समृद्धि, सुशासन र स्थायित्वका लागि एमालेको प्रतिबद्धता दोहोर्‍याउँदै विगतमा सम्पन्न पूर्वाधार विकास, सामाजिक सुरक्षाको विस्तार, कृषि तथा रोजगारी प्रवर्द्धनजस्ता प्रतिबद्धताहरु जनता माझ राखेका छन ।

बर्दगोरियाको ३ को बुटकौवा टोलमा पुगेका थापाले स्थानीयको समस्या, गुनासा र अपेक्षा सुने । स्थानीयले मुख्य रूपमा लालपुर्जा अभाव, रोजगारी, शिक्षा, स्वास्थ्य सेवा र सडक पूर्वाधारका विषय उठाएका थिए ।

स्थानीयवासीले वर्षौंदेखि समाधान नपाएका समस्या यसपटक समाधान हुने अपेक्षा व्यक्त गरेका छन् । “हामीले धेरै उम्मेदवार देख्यौं, धेरै वाचा पनि सुनेका छौं, तर अब काम गर्ने नेतृत्व चाहिएको छ,” एक स्थानीयले भने । थापाले जनताको विश्वासलाई निराश नपार्ने प्रतिबद्धता व्यक्त गर्दै विकास र समृद्धिका लागि आफू स्पष्ट योजनासहित आएको बताए ।