कैलाली । नेपाली काँग्रेसको भातृ संघ नेपाल थारु संघको आयोजनामा नेपाली काँग्रेस कैलाली क्षेत्र नं. २ का उम्मेदवार विजय बहादुर स्वाँर सँग थारु समुदायका कार्यकर्ताहरु भेटघाट तथा अन्तरक्रिया कार्यक्रम कैलालीको बलियामा सम्पन्न भएको छ। संगठन सुदृढीकरण, समुदायका मुद्दा र आगामी चुनावी रणनीतिबारे छलफल गर्न उक्त कार्यक्रम आयोजना गरिएको बताइएको छ।



नेपाली काँग्रेस कैलाली निर्बाचन क्षेत्र नं. २ का उम्मेदवार विजय बहादुर स्वाँरको प्रमुख आतिथ्यतामा भएको उक्त कार्यक्रममा सहभागी थारु अगुवा तथा सहभागीहरुले थारु समुदायको हक–अधिकार, शिक्षा, रोजगारी तथा यस क्षेत्रमा थारु समुदायको राजनीतिक प्रतिनिधित्वका विषयमा जोड दिएका थिए। उनीहरूले समुदायको पहिचान र अधिकार सुनिश्चित गर्न एकताबद्ध भएर अघि बढ्नुपर्ने धारणा समेत व्यक्त गरे। यस्तै अगामी फागुन २१ गते हुने प्रतिनिधीसभाको निर्बाचनमा यस क्षेत्रका उम्मेदवारलाई कसरी जिताउने भन्ने महत्वपुर्ण विषयमा छलफल भएको थियो ।
भेटघाटका क्रममा नेपाल थारु संघका पदाधिकारीहरूले संगठनलाई वडा, पालिका र जिल्ला तहसम्म विस्तार गर्ने योजना रहेको जानकारी गराउँदै हालसम्म आफुहरुसंग भवनको अभाव रहेको बताउदै संघका लागि तत्काल भवनका लागि पहल गरिदिन समेत उम्म्ेदवारसँग माग गरे । साथै, थारु युवालाई राजनीतिमा सक्रिय रुपमा सहभागिता गराउन विशेष अभियान सञ्चालन गरिने जनाइएको छ।
कार्यक्रममा नेपाली काँग्रेस महासमिति सदस्य तथा पुर्ब शिक्षा राज्यमन्त्री मोहन सिंह राठौर लम्कीचुहा नगरप्रमुख शुशिला शाही थारु कल्याणकारी सभा कैलाली जिल्ला अध्यक्ष बिर बहादुर थारु बिभिन्न थारु अगुवा, युवा तथा महिला कार्यकर्ता शुभेच्छुकहरुको उल्लेख्य रुपमा सहभागिता रहेको थियो।















