कैलाली । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री माननीय कमल बहादुर शाहले आज बर्दगोरियाका विभिन्न वडाहरूमा आयोजित कार्यक्रम मार्फत जनताहरु संग प्रत्यक्ष भेटघाट गरेका छन्।



भेटघाट कार्यक्रममा समाजका विभिन्न क्षेत्रका अगुवा बडघर भलमन्सा स्थानीय बासिन्दा, गाउँ समाजका प्रतिनिधि तथा विभिन्न सरोकारवालाहरूको उल्लेख्य रूपमा सहभागिता रहेको थियो ।
भेटघाटका क्रममा मुख्यमन्त्री शाहले स्थानीय नागरिकका समस्या, गुनासा, सुझाव र मागहरू सुनेका थिए। सहभागीहरूले मुख्य रूपमा प्रमुख समस्याको रूपमा रहेको सडक पूर्वाधार कालोपत्रे, नदी कटान समस्याका लागि तटबन्ध निर्माण, स्थानीय स्तरका कर प्रणाली, शिक्षा, स्वास्थ्य, खानेपानी, सिंचाई तथा रोजगारीका विषयमा आफ्ना गुनासा तथा सुझावहरु राखेका थिए ।
मुख्यमन्त्री शाहले प्रदेश सरकार जनताको समस्याप्रति संवेदनशील रहेको उल्लेख गर्दै यहाँ प्राथमिकताका आधारमा समाधानका लागि पहल गरिने बताए। “जनताको अपेक्षा अनुसार काम गर्नु हाम्रो जिम्मेवारी हो” उनले भने। हामी विकास निर्माणका योजनाहरु क्रमसः अगाडि बढाइरहेका छौं यस क्षेत्रका मुख्य समस्याहरूको समाधानका लागि हामी तत्पर छौ ।
यस्तै कार्यक्रममा उठाइएका सम्बन्धित विषयहरुमा आवश्यक समन्वय र कार्यान्वयन गरिने प्रतिबद्धता समेत व्यक्त गरेका थिए। स्थानीयवासीहरूले प्रदेश सरकारका प्रमुखसँग आफ्नै गाउँठाउँमा प्रत्यक्षरूपमा संवाद गरी आफ्नो ठाउँको समस्या, गुनासो र योजना माग गर्न पाएकोमा खुसी व्यक्त गर्दै समय समयमा जनता माझ आइरहन समेत आग्रह गरे ।



















