जनकपुर ।  कांग्रेस सभापति गगन थापाले भदौ २३ मा जस्तो अब देशमा युवा मारिनु नपर्ने र भदौ २४ गतेजस्तो सिंहदरबार जल्नु नपर्ने कांग्रेसको प्रतिज्ञा रहेको बताएका छन् । देशमा देखिएका समस्याको हल निकाल्दै कांग्रेसले भोलिको उज्यालो नेपालका लागि खाका तयार पारिसकेको बताए ।

‘भदौ २३ र २४ गतेको विद्रोहले हामीलाई इन्कार गरेको होइन । बदलिएर आऊ भनेको हो । कांग्रेस बदलिएर आएको छ,’ जनकपुरको तिरहुतिया गाछीमा बुधबार आयोजना गरिएको प्रतिज्ञा सभालाई सम्बोधन गर्दै कांग्रेस सभापति थापाले भने,‘अब ठूलालाई चैन र सानालाई ऐनको अध्याय सकिएको छ । किसानलाई खाद(मल) लिन अब लाइन बस्नुपर्दैन । लाइसेन्स लिन घुस दिनुपर्दैन, त्यो हाम्रो प्रतिज्ञा हो ।’

मधेश प्रदेशका ८ वटै जिल्लाका ३२ वटा निर्वाचन क्षेत्रमा उम्मेदवारसमेत उपस्थित रहेको प्रतिज्ञा सभामा थापाले विगतमा थुप्रै काम भए पनि भएका गल्ती सच्याउन कांग्रेस तयार रहेको बताए । ‘अब प्रश्न गर्दा कुनै युवा भदौ २३ गतेको जस्तो राज्यको गोलीबाट मारिनुपर्दैन,’ थापाले भने,‘कसैले नकाव लगाएर सिंहदरबार जलाउन पाउँदैन, यही हो कांग्रेसको प्रतिज्ञा ।’ उनले भदौ २३ र २४ गते सडकमा आएका युवा पुस्ताको भावनालाई कांग्रेसले सम्बोधन गर्ने बताए । ‘जेन-जी भनेर कहीँ कतैबाट आएको होइन । ती हाम्रै भाइ भतिजा हुन्,’ कांग्रेस सभापति थापाले भने,‘हामीलाई इन्कार गरेको होइन । हाम्रो शैली बदल भनेको हो ।’रासस