काठमाण्डौ । थाइल्यान्डको चुनावमा रोचक नतिजा आएको छ । सामाजिक संजालका चर्चित अनुहार र युवा नेताले भरिएको पिपल्स पार्टीले बहुमत ल्याउने चर्चा सामाजिक सञ्जालमा गरिएको थियो ।



सामाजिक सञ्जालको माहोल र चुनावअगाडिका प्रक्षेपणले बलियो जनमत ल्याउने भनिएको पिपल्स पार्टीले ४०० प्रत्यक्ष चुनाव सिटमा २०० कम्तिमा ल्याउने प्रक्षेपण गरिएको बीबीसीमा उल्लेख छ । तर, पार्टीले १५१ मात्रै सिट ल्यायो ।
सत्ताधारी दल भुमजाइथाइले १९० सिट ल्याएर केही गठबन्धन गरेर सहज सरकार बनाउने देखिएको छ । प्रधानमन्त्री अनुटिन चार्नभिराकुल फेरि पनि सरकार बनाउने अवस्थामा पुगेका छन् । आइतबारको चुनावमा यो परिणामले धेरैलाई चकित बनाएको छ ।
तर, चुनावमा पराजित भएपछि मतगणनामा घाँधली भएको नयाँ दलका नेता– कार्यकर्ता तथा समर्थकले आरोप लाएका छन् । मतगणनामा पारदर्शिता नदेखाएको भन्दै उनीहरूले आलोचना गरेका छन् । विश्व मिडियाहरूले यसको समाचार प्राथामिकताकासाथ बनाएका छन् । बेलायती समाचार एजेन्सी रोयटर्सका अनुसार पिपल्प पार्टीले १८ चुनाव क्षेत्रमा पुनः गणनाको माग गरेको छ ।
पिपल्प पार्टीमा सामाजिक सञ्जालमा लोकप्रिय उम्मेदवारहरू थिए । त्यसमा एक अनुहार थिए सुतासित म्याकी पोतासक केही महिना अगाडिसम्म टेलिभिजनका चर्चित अनुहार थिए । उनले आफ्नो ड्रामको कार्यक्रम छोडेर राजनीतिमा आए । बीबीसीका अनुसार राजनीतिमा आउँदा उनले जापानी एनिमे ‘वान पिस’को पात्र लुफीको टोपी र झन्डा प्रयोग गरे । उनले युवा मत तान्न यो शैली प्रयोग गरेका थिए । उनले भनेका थिए, ‘पुराना पुस्ताले राजनीतिलाई अल्छिलाग्दो बनाए । म रमाइलो बनाउन चाहन्छु ।’
पिपल्स पार्टीको पराजयसँगै प्रधानमन्त्रीको उम्मेदवारको रूपमा चर्चामा ल्याइएका नाथ्थाफोङ रुएङपानयावुतले प्रधानमन्त्री बन्ने बाटो बन्द भएको छ । तर, उनले आफ्ना मतदातालाई धन्यवाद दिइसकेका छन् । ३८ वर्षका उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘सबै समयमा विश्वास र साथ दिनुभएकोमा तपाईं सबै जनतालाई धन्यवाद ।’















