काठमाण्डाै । नेपाली कांग्रेसमा विशेष महाधिवेशन पक्षधरले यही पुस २८ गतेभित्रै विशेष महाधिवेशन गर्न दबाव बढाएका छन् ।

विशेष महाधिवेशनको पक्षमा रहेकाको समूहले आज पत्रकार सम्मेलन गरि पार्टी विधानले तोके अनुसार विशेष महाधिवेशन अनिवार्य रूपमा सम्पन्न गर्नुपर्ने बताएका हुन् । उनीहरूले विशेष महाधिवेशन प्रतिनिधिको वैधानिक अधिकार भएको दाबी समेत गरेका छन् ।

नियमित महाधिवेशन गर्न नसकिएको अवस्थामा ४० प्रतिशतभन्दा धेरै महाधिवेशन प्रतिनिधिले हस्ताक्षर गरेर माग गरेको विशेष महाधिवेशन गर्नुको विकल्प नरहेको उनीहरूको तर्क छ ।

विशेष महाधिवेशन पक्षधरका नेता सुवास पोखरेलले गएको असोज २९ गते दर्ता भएको विशेष महाधिवेशनको माग अझै जीवित रहेको र यसको कार्यान्वयन गर्नु पार्टीको दायित्व भएको बताउनुभयो ।

अब कांग्रेसका लागि विशेष महाधिवेशन बाहेक अरू कुनै विकल्प नभएको नेता पोखरेलले बताउनुभयो । लोकतान्त्रिक पार्टी भएर पनि विधानको बाध्यकारी व्यवस्था नमान्ने हो भने संविधान र विधिको वकालत गर्दै नागरिकसमक्ष जान पार्टीको नैतिक अधिकार नहुने उहाँको भनाइ छ ।

विशेष महाधिवेशनको माग अनुसार यही पुस २७ र २८ मा विधानको धारा १७ (२) अनुसार विशेष महाधिवेशन गर्न माग गरिएको छ । विशेष महाधिवेशनले पार्टीमा फुट नभइ एकता कायम गर्ने उनीहरूको विश्वास छ । उनीहरूले पार्टी विभाजन गर्ने पक्षमा आफूहरू नरहेको बताउँदै आएका छन् ।