काठमाण्डाै । राष्ट्रपति रामचन्द्र पौडेल कतारको राजधानी दोहामा मङ्गलवारदेखि शुरू भएको ‘सामाजिक विकासका लागि दोस्रो विश्व शिखर सम्मेलन’ मा सहभागी भएर आज स्वदेश फिर्ता हुनुभएको छ ।



उहाँलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री सुशीला कार्की, गृहमन्त्री ओमप्रकाश अर्याल, परराष्ट्र सचिव अमृतबहादुर राई, नेपालका लागि कतारका राजदूत, सुरक्षा निकायका प्रमुखलगायतले स्वागत गर्नुभयो । त्यस अवसरमा नेपाली सेनाले राष्ट्रपति पौडेलको स्वागतमा सम्मान गारत अर्पण गरेको थियो ।



कतारका अमिर शेख तमिम बिन हमद अल थानीको निमन्त्रणामा सम्मेलनमा सहभागी हुन राष्ट्रपति पौडेल प्रथम महिला सबिता पौडेलसहित नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै सोमवार दोहा प्रस्थान गर्नुभएको थियो ।
उहाँले संयुक्त राष्ट्रसङ्घको महासभाको निर्णय अनुसार दोहामा भएको ‘सामाजिक विकासका लागि दोस्रो विश्व शिखर सम्मेलन’ को मुख्य सत्रलाई मङ्गलवार सम्बोधन गर्नुभएको थियो । साथै उहाँले सम्मेलन अन्तर्गत आयोजित सामाजिक विकासका तीन स्तम्भहरूको सुदृढीकरण : गरिबी निवारण, पूर्ण र उत्पादनशील रोजगारी एवम् सबैका लागि मर्यादित काम र सामाजिक समावेशीकरण विषयक उच्चस्तरीय गोलमेच सम्मेलनलाई समेत सम्बोधन गर्नुभएको थियो ।
राष्ट्रपति पौडेलले मङ्गलवार नै संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेससँग शिष्टाचार भेट गर्नुभएको थियो । पौडेलले बुधवार कतार राष्ट्रिय सङ्ग्रहालयको पनि अवलोकन गर्नुभएको थियो ।













