काठमाण्डौ । चितवनको तुइनखोलामा खसेको ठूलो सुक्खा पहिरोका कारण मुग्लिन–नारायणगढ सडक पूर्ण रूपमा बन्द छ । हिजो दिउँसोदेखि नै सडक बन्द भएकोमा बेलुका थप पहिरो खसेपछि यो सडक खुलाउन समय लाग्ने भएको छ । सडक तत्काल नखुल्ने भएकाले जिल्ला प्रशासन कार्यालय चितवनले वैकल्पिक सडक प्रयोग गर्न अनुरोध गरेको छ ।



वैकल्पिक सडकका रूपमा महोत्तरीको बर्दिवास, मकवानपुरको हेटौंडा, रुपन्देहीको बुटवल, नवलपरासी बर्दघाट सुस्ता पूर्वको कावासोती र गैंडाकोट, धादिङको नौबिसे तथा तनहुँको हकमा खैरेनीटारबाट वैकल्पिक मार्ग प्रयोग गर्न चितवन प्रशासनले अनुरोध गरेको हो ।



चितवनबाट काठमाण्डौ आउजाउ गर्नका लागि (साना गाडी मात्रै) चितवनको जुटपानी, शक्तिखोर, मायाटार हुँदै धादिङको मलेखु निस्कने वैकल्पिक सडक प्रयोग गर्न सकिनेछ । त्यस्तै धादिङको नौबिसेबाट मकवानपुरको हेटौंडा निस्कने त्रिभुवन राजपथको बाटोलाई वैकल्पिक सडकको रूपमा प्रयोग गर्न सकिने प्रशासनले जनाएको छ ।



यस्तै मकवापनुरको हेटौंडाबाट भैंसे, भीमफेदी, कुलेखानी, सिस्नेरी हुँदै दक्षिणकालीको बाटो भएर काठमाण्डौ पुग्न सकिन्छ । हेटौंडा–काठमाण्डौ आउजाउ (ठूला गाडी मात्र) का लागि कान्ति लोकपथ प्रयोग गर्न सकिनेछ । चितवनबाट पोखरा जानका लागि ठूला तथा साना दुवै गाडीले बुटवल हुँदै पोखरा जान सक्नेछन् ।
यसैगरी चितवनबाट कालीगण्डकी करिडोरको बाटो (सानो गाडी मात्रै) गैंडाकोट भिमाद हुँदै तनहुँ निस्कन सकिनेछ । मुग्लिन–नारायणगढ सडकखण्डअन्तर्गत तुइनखोलामा पहिरो खस्दा केही दिनयता दैनिकजसो यात्रु र चालकले सास्ती भोगिरहेका छन् । निरन्तर ढुङ्गा खसिरहेकाले सडकमा नियमित गाडी चल्न समस्या छ । बाटो खुलाउन आज बिहानदेखि प्रयास थाल्ने तर समय लाग्ने सडक डिभिजन कार्यालय भरतपुर चितवनले जनाएको छ ।


