काठमाडौँ । जेन–जी आन्दोलनमा बर्बर दमन गरेको भन्दै सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले प्रधानमन्त्री केपी शर्मा ओली, गृहमन्त्री रमेश लेखकलगायतलाई पक्राउ गर्न माग गरेका छन्।

CP-HOSPITAL

नयाँ बानेश्वरमा भएको जेनजी आन्दोलनमा प्रहरीले गोली चलाउँदा १५ जनाले ज्यान गुमाइसकेका छन् भने सयौँ घाइते भएका छन्। विद्यार्थीमाथि गोली हान्ने प्रधानमन्त्री र गृहमन्त्रीलाई पक्राउ गर्नुपर्ने आवाज सामाजिक सञ्जालमा उठेको छ। सामाजिक सञ्जाल एक्समा #एरेस्टओली, #एरेस्टलेखक, #एरेस्टशेरबहादुरदेउवा लगायतका ट्रेन्ड चलाइएको छ।

विनोद क्षेत्री नामक एक्स प्रयोगकर्ताले लेखेका छन्, ‘एकै दिनमा यति धेरै युवाहरूलाई गोली प्रहार गरी हत्या गर्न आदेश दिने सरकार तत्काल विघटन गरी प्रधानमन्त्री केपी ओली र गृहमन्त्री रमेश लेखकलाई जेल चलान गर्न जतिसक्यो छिटो राष्ट्रपतिलाई दबाब दिऔँ। अत्याचारको सीमा नाघिसक्यो। अब ढिला नगरौँ।’

यस्तै, प्रविशा पन्तले लेखेकी छन्,’त्यो ओलीले राजीनामा मात्रै दिएर उन्मुक्ति पाउदैन! जेल हाल्नु पर्छ हत्यारा हो यो।’ यस्तै कुमार पुरासैनी लेख्छन्,’जनहत्यारो केपी ओलीलाई तुरन्त पक्राउ गरियोस्।’