नेपालगंज । नेपाल राष्ट्रिय आधारभूत विद्यालय धौलागिरीका बरिष्ठ शिक्षक रुद्र रानाभाटलाई ४१ वर्ष लामो शिक्षण यात्रापछि विहीवार एक भव्य समारोहका बीच बिदाई गरिएको छ ।

२०४१ साल भदौ २५ गतेदेखि शिक्षण सेवा आरम्भ गरेका रानाभाटले चार दशकभन्दा बढी समय एउटै विद्यालयमा रहेर नेपाली विषय अध्यापन गरेका हुन् । सोही अवधिमा उनले विद्यालयको प्रधानाध्यापकको जिम्मेवारी पनि ४ वर्षसम्म कुशलतापूर्वक वहन गरेको स्मरणीय योगदान छ ।

विहीबार विद्यालय प्राङ्गणमा आयोजना गरिएको कार्यक्रममा नौमती बाजाको मधुर धुन, विद्यार्थीहरूको भावनात्मक शुभकामना र सहकर्मी शिक्षकहरूको स्मरणीय भनाइले वातावरण भावुक बनेको थियो ।

खजुरा गाउँपालिका अध्यक्ष डम्बर विक (तुफान), वडा नं. ३ का अध्यक्ष पूर्णबहादुर भण्डारी, शिक्षा शाखा प्रमुख खगेन्द्र मल्ल, रेडक्रस खजुरा शाखा अध्यक्ष जीवनाथ सापकोटा, शिक्षक महासंघ खजुराका अध्यक्ष माधव सापकोटा लगायतले रानाभाटको जीवनपर्यन्तको योगदानलाई उच्च सम्मान व्यक्त गर्दै रानाभाटलाई ‘असली गुरु’ को प्रतिरूपका रूपमा व्याख्या गरे ।

विदाई समारोहमा रानाभाटले आफूले बाँकी जीवन पनि शिक्षा र समाजको सेवामा समर्पित गर्ने उद्घोष गरे । उनको अनुशासन, सरल स्वभाव र शिक्षा क्षेत्रमा देखाएको समर्पणले विद्यार्थी मात्र होइन, सम्पूर्ण समुदायलाई प्रेरित गरेको सहभागीहरूले बताए ।

कार्यक्रम विद्यालयका प्रधानाध्यापक केशर बहादुर केसीको स्वागत मन्तव्यबाट सुरु भई, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष पदम काउचा मगरको समापन भाषणपछि नौमती बाजासहित शिक्षकमण्डली, विद्यार्थी र अभिभावकले रानाभाटलाई घरसम्म पुगी विदाईलाई अझ औपचारिक र ऐतिहासिक बनाइयो ।

४१ वर्ष एउटै विद्यालयमा सेवा दिँदै असंख्य विद्यार्थीलाई मार्गदर्शन गरेका रुद्र रानाभाट अब पनि समाज र शिक्षा क्षेत्रमा प्रेरणादायी व्यक्तित्वका रूपमा चिनिनुहुने विश्वास गरिएको कार्यक्रममा सहभागीहरुको अपेक्षा थियो ।