काठमाण्डाै । राष्ट्रिय गौरवका सडक आयोजनाहरूको प्रगति निराशाजनक देखिएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय अन्तर्गतका राष्ट्रिय गौरवको आयोजनाहरूको कार्यान्वयन प्रगति बारेमा राष्ट्रिय, सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा प्रस्तुत विवरण अनुसार प्रगति निराशाजनक देखिएको हो ।



सडक विभागका अनुसार १ हजार ८ सय ७९ किलोमिटरको मध्य पहाडी राजमार्ग आयोजना अहिलेसम्म १ हजार ५ सय १० किलोमिटर सडक कालोपत्र भएको छ । १ हजार ८ सय ५७ किलोमिटरको हुलाकी राजमार्गमा अहिलेसम्म १ हजार ३ सय ४१ किलोमिटर सडक कालोपत्र भएको छ ।
यस्तै १ सय ६२ किलोमिटरको कोशी कोरिडोरमा १३ किलोमिटर सडक कालोपत्र भएको छ । ४ सय ४७ किलोमिटरको कालीगण्डकी कोरिडोरमा ३ सय १५ किलोमिटर सडक निर्माण भएको छ । कर्णाली कोरिडोरको भौतिक प्रगति २७ प्रतिशत छ ।
सडक विभागका महानिर्देशक विजय जैसीले ठूला आयोजनाहरूमा धेरै चुनौती रहेको बताउनुभयो । उहाँका अनुसार पर्याप्त बजेटको अभाव, जग्गा प्राप्तिमा समस्या, खरिद ऐनले गर्ने ढिलाइसँगै पहिरोका कारण पनि कामले तीव्रता पाउन सकेको छैन ।













