कञ्चनपुर । कञ्चनपुरको कृष्णपुर नगरपालिका–१ दोमिल्लामा साउन २ गतेको राति जंगली हात्तीको बथानले त्रास फैलाएको छ। रातको करिब १ बजे मन्सरादेवी साउद कच्ची घरमा सुतिरहेकी बेलामा घरको भित्तो हल्लिएपछि उनी बाहिर निस्किएर भागिन्। “एक सेकेन्ड पनि सोच्न सकिनँ, छोरालाई तानेर छिमेकीकहाँ भागेँ,” उनले भनिन्।

हात्तीले घर भत्काएर अन्नपात सखाप पारेको छ। छिमेकी देवकी भट्टका अनुसार, हात्तीले वरिपरिका घर छोडेर मन्सराको मात्र क्षति गरेको यो दोश्रोपटक हो। केही दिनअघि मनि साउदको घर पनि हात्तीले क्षतिग्रस्त बनाएको थियो।

स्थानीय गौरी साउदले सडकमा बत्ती नहुँदा खतरा झनै बढेको बताइन्। ऐश्वर्या सामुदायिक वन छेउको यो बस्ती हात्तीको नियमित मार्ग भएको वन अध्यक्ष ईश्वर बुढाले बताए। हात्तीले पानीको पाइपसमेत तोड्दा ४० परिवार पिउने पानीबाट बञ्चित भएका छन्।

स्थानीयले हात्ती भगाउन रातभर आगो बाल्नुपर्ने बाध्यता रहेको छ। स्थायी समाधानका लागि मेसवायर, पर्खाल र चेतावनी प्रणाली जडानको माग बढ्दै गएको छ।