काठमाडौँ । सरकारले श्रमिकको न्यूनतम पारिश्रमिकमा वृद्धि गर्दै १७,३०० रुपियाँबाट १९,५०० रुपियाँ पुर्याउने निर्णय गरेको छ।यही निर्णयका विषयमा सामाजिक सञ्जालमा पोस्ट सेयर गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले श्रमिकको सम्मान र भविष्यलाई सुरक्षित गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन्। उनले भने,’श्रमिकलाई एक मुट्ठी भरोसा महत्त्वपूर्ण हुनेछ।’

प्रधानमन्त्री ओलीका अनुसार, श्रमिकहरूको मेहनत र योगदानले नै राष्ट्रको समृद्धि र विकासलाई सम्भव बनाउँछ। उनले श्रमिकको समृद्धि बिना राष्ट्रको समृद्धि असम्भव भएको टिप्पणी गर्दै भने,’हामी सबैको कडा मेहनतको मूल्यांकन गर्नुपर्छ र यसका लागि सरकारले सधैं काम गर्नेछ।’

यस निर्णयसँगै, सरकारद्वारा लागू गरिएको योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रमले श्रमिकहरूको भविष्यलाई थप सुरक्षित बनाउने दिशामा महत्वपूर्ण कदम उठाइएको छ। अहिलेसम्म करिब २१ लाख श्रमिक यस कार्यक्रममा आबद्ध भइसकेका छन्।

प्रधानमन्त्री ओलीले श्रमिकको जीवनस्तर सुधार गर्न र उनीहरूको योगदानको उचित मूल्याङ्कन गर्न यो निर्णय महत्त्वपूर्ण हुने बताएका छन्। ‘हाम्रो सरकारले श्रमिकको भविष्यलाई सुरक्षित बनाउने दृषटिकोणबाट यो निर्णय लिएको हो। श्रमिकहरूको सशक्तीकरण नै राष्ट्रको सशक्तीकरण हो,’ ओलीले थपे।