धनगढी । कैलालीमा गत वर्षभन्दा बढी परिमाणमा मल आपूर्ति भए पनि धान रोपाइँको सिजनमा युरिया मल अभाव हुन थालेको छ । यस वर्ष असार पहिलो साताबाटै रोपाइँ सुरु गरेका किसानलाई मल पाउन अघिल्लो वर्षभन्दा केही सहज भए पनि केही ढिलो गरी धान रोपाइँमा जुटेका किसानलाई भने युरिया पाउन समस्या भएको छ ।



‘गत वर्षको तुलनामा बढी मल आएको छ, तर युरिया अझै अपुग छ,’ कृषि सामग्री कम्पनी प्रादेशिक कार्यालय कैलालीका सूचना अधिकारी गणेशदत्त जोशीले भने, ‘यो वर्ष हालसम्म ११ हजार ७ सय ६२ टन युरिया आएको हो, गत वर्ष ९ हजार ९ सय ६२ टन आपूर्ति भएको थियो ।’ यो वर्ष छिटो रोपाइँ गर्नेहरूले सहजै युरिया पाउन सके भने ढिलो रोपाइँ गरिरहेका किसानलाई कमी हुन गएको हो ।



जिल्लामा कृषि सामग्री कम्पनीको प्रादेशिक कार्यालय र साल्ट ट्रेडिङ कर्पोरेसनले सरकारी अनुदानको रासायनिक मल सहकारी संस्थामार्फत किसानलाई बिक्रीवितरण गर्दै आएका छन् । जिल्लामा अनुदानको मल आपूर्ति गर्ने ती दुवै संस्थामा युरिया मलको मौज्दात रित्तिएको छ । कृषि सामग्री कम्पनीका सूचना अधिकारी जोशी भने विगतका वर्ष जस्तो मलको हाहाकार नभएको दाबी गर्छन् ।



‘बढीमा १०/१५ प्रतिशत किसानलाई युरिया अभाव भएको छ, यस वर्ष प्रायः किसानले समयमै मल पाएका छन्,’ जोशीले भने । ग्लोबल टेन्डरबाट ठेक्का भई वीरगन्ज, विराटनगर र भैरहवा नाका भएर मल नेपाल भित्रिएपछि र त्यहाँबाट विभिन्न प्रदेश तथा जिल्ला आइपुग्ने उनको भनाइ छ । ‘धानखेतीका लागि बढी माग हुने गरेको युरिया र अन्य मल २/३ दिन बिराएर भैरहवा, विराटनगर र वीरगन्ज कार्यालयबाट आइरहेको जोशीले जनाए ।



‘समयमै टेन्डर प्रक्रिया भएकाले मल आपूर्तिमा खासै व्यवधान आएन,’ जोशी भन्छन्, ‘यही गतिमा मल आपूर्ति हुने हो भने यो वर्ष गहुँबालीका लागि पनि समयमै मल उपलब्ध हुन सहज देखिन्छ ।’
धानबालीलाई अन्य मलसँगै युरिया बढी चाहिन्छ । धानखेतीका बखत रोपाइँअगावै खेत तयार भएका बेला मल हाल्ने गरिन्छ । रोपाइँ सकिएको २१ देखि ३० दिनको बीचमा टप ड्रेसिङ लागि थप युरिया मल आवश्यक पर्छ । धानको गाँज आउने बेला पनि युरिया चाहिन्छ । ‘हालका वर्षमा नगदेबालीका रूपमा उखु, केरा, तरकारी खेती विस्तार हुन थालेपछि युरिया, डीएपी र पोटासलगायत रासायनिक मलको माग बढ्न थालेको हो,’ जोशीले भने ।
कैलालीको दक्षिणपूर्वी भेगलगायत जिल्लाका कतिपय क्षेत्रमा अझै धान रोपाइँ भइरहेको कृषि सहकारी संस्था लम्की चुहाका प्रमुख डम्बर शाह बताउँछन् । त्यहाँका किसान युरिया नपाएर समस्यामा परेका छन् । ‘असार पहिलो सातातिर युरिया पाउन केही सहज भए पनि हाल आएर मल आपूर्ति गर्ने संस्थाको गोदाम खाली भएका छन्, युरियाको चरम अभाव देखा परेको छ,’ शाहले भने ।
कृषि सामग्री कम्पनीको प्रादेशिक कार्यालय धनगढीको तथ्यांकअनुसार यस वर्ष ११ हजार ७ सय ६२ टन यरिया आएकामा ११ हजार ३ सय १० टन बिक्री भएको छ भने ८ हजार ८ सय ६२ मेटन डीएपी आएकामा ८ हजार ५ सय ७९ टन बिक्री भइसकेको छ । यसैगरी पोटास ९ सय ५७ टन आइपुगेकामा ४ सय ७६ टन बिक्री भएको छ । मलको बिक्री मूल्य गत वर्षकै मूल्य हाल पनि कायम छ । कृषि सामग्रीले बिक्री गर्ने मूल्यमा सहकारी संस्थाले कम्पनीको गोदाम घरबाट ढुवानीलगायतको खर्च जोडेर मूल्य कायम गरेर बिक्री गर्दै आएका छन् ।
यता मलको अर्को आपूर्तिकर्ता साल्ट ट्रेडिङ धनगढीमा यस वर्ष आएको ४ हजार ४ सय ५६ टन युरिया सबै बिक्री भइसकेको छ । गत वर्ष उसले युरिया ७ हजार २७ टन र डीएपी ६ हजार १ सय ३० टन बेचेको थियो ।
‘यस वर्ष पहिलो लटको मल आएपछि दोस्रो लटमा पनि मल आउने क्रम जारी छ,’ साल्ट ट्रेडिङ धनगढीका सहायक कर्मचारी रामचन्द्र जोशीले भने, ‘बुटवल–नारायणगढ सडक खण्डको अवरोधका कारण मल ढुवानीमा समस्या आएको हो, कम परिमाणमा भए पनि मल आइरहेकै छ । साल्ट ट्रेडिङलाई प्राप्त मलमध्ये पालैपालो विभिन्न स्थानीय तहमा सहकारीमार्फत बिक्री गरिएको छ, अब कैलारी, गोदावरी र धनगढी क्षेत्रमा युरिया पठाउन बाँकी छ ।’ कान्तिपुर