काठमाडौँ । राष्ट्रिय सूचना प्रविधि केन्द्रका तत्कालिन कार्यकारी निर्देशक सुनिल पौडेलसहित ७ जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले शुक्रबार पनि भ्रष्टाचार मुद्दा हालेको छ।

यसअघि सूचना प्रविधिका विभिन्न खरिदमा भ्रष्टाचार गरेका, अकुत आर्जन गरेको अभियोगमा मुद्दा दायर गरेको आयोगले शुक्रबार हाई कम्प्युट इन्फ्रास्ट्रक्चर खरिदका क्रममा आर्थिक वर्ष २०७६/७७ मा भ्रष्टाचार गरेको भन्दै मुद्दा दायर गरेको हो। आयोगका प्रवक्ता राजेन्द्रकुमार पौडेलका अनुसार खरिदमा गुरुयोजना नै नबनाई ठेक्का लगाएको पाइएको जानकारी दिए।

स्पेसिफिकेसन तोक्दा मिलेमतो गरिएको र निर्धारित मापदण्ड विपरीत गुणस्तरहीन सामग्री आपूर्ति गरी १५ करोड ८८ लाख ५० हजार बराबरको भ्रष्टाचार गरिएको आयोगको दाबी छ । अस्वाभाविक मूल्य कायम गरी विश्व वितरण नेपाल प्रालिलाई ३० करोड ६५ लाख ५५ हजारमा ठेक्का दिँदा १५ करोड भन्दा बढी भ्रष्टाचार भएको अभियोगपत्रमा उल्लेख छ।

आयोगले केन्द्रका तत्कालीन कार्यकारी निर्देशक सुनिल पौडेल, तत्कालीन निर्देशक सफल श्रेष्ठ, सहायक निर्देशक रमेश पोख्रेल, कम्प्युटर इन्जिनियर रामशरण गायक, लेखा अधिकृत निमबहादुर वली, वल्र्ड डिस्ट्रीव्युसन नेपाल प्रालिका अध्यक्ष तथा प्रवन्ध निर्देशक अरुण श्रेष्ठ वल्र्ड डिस्ट्रीव्युसन नेपाल प्रालिलाई प्रतिवादी बनाएको छ।