काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले २०८१ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा शुक्रबार साँझ सार्वजनिक गरेको छ ।



बोर्डका अध्यक्ष डा. महाश्रम शर्माले नतिजा सार्वजनिक गर्दै २०८१ सालको एसईईमा ६१.८१ प्रतिशत विद्यार्थी ग्रेडेड भएको जनाए । २०८० सालको एसईईको नतजिामा ४७.८६ प्रतशित मात्रै उत्तीर्ण भएका थिए । गत वर्षको तुलनामा यस वर्षको नतिजामा सुधार आएको देखिन्छ ।



कुल परीक्षार्थीमध्ये दुई लाख ७१ हजार २९९ जना मात्रै उत्तीर्ण भएका हुन् । एसईईमा चार लाख ३८ हजार ८९६ जनाले परीक्षा दिएका थिए । १२६ परीक्षार्थीको परीक्षा रद्द गरिएको बोर्डका अध्यक्ष डा. शर्माले जानकारी दिए ।
कति छन् ‘नन ग्रेडेड’
नतिजाअनुसार, एसईईमा सहभागी परीक्षार्थीमध्ये एक लाख ६७ हजार ५९७ जना ‘नन ग्रेडेड’ छन् । कुल परीक्षार्थीमध्ये दुई लाख ७१ हजार २९९ जना मात्रै उत्तीर्ण भएका हुन् ।
कसले कति जीपीए ल्याए ?
नतिजाअनुसार २०८१ सालको एसईई परीक्षामा नियमिततर्फ सहभागी चार लाख ३८ हजार ८९६ परीक्षार्थीमध्ये ३.६ जीपीएदेखि ४ जीपीएसम्म ल्याउने ४८ हजार १७७ जना, ३.२ जीपीएदेखि ३.६ जीपीए ल्याउने ८१ हजार ३८५ जना र २.८ जीपीएदेखि ३.२ जीपीए ल्याउने ८९ हजार १२४ जना परीक्षार्थी रहेका छन् ।
त्यसैगरी २.४ जीपीएदेखि २.८ जीपीएसम्म ल्याउने ४८ हजार ४७९ जना, २ जीपीएदेखि २.४ जीपीए ल्याउने चार हजार १२६ जना र १.६ देखि २ जीपीए ल्याउने आठ परीक्षार्थी रहेका छन् ।
कुन प्रदेशमा कति ?
बोर्डका अनुसार, कोसी प्रदेशमा ४७ हजार ८३५, मधेस प्रदेशमा ५९ हजार ७४९, वाग्मतीमा एक लाख १९ हजार ५१७, गण्डकीमा ४७ हजार ८४९, लुम्बिनीमा ५७ हजार ६८७, कर्णालीमा ४६ हजार ४५५, सुदूरपश्चिम प्रदेशमा ५९ हजार ८०४ जना विद्यार्थी पास भएका छन् ।
पूरक परीक्षा साउन २९ देखि
माध्यमिक शिक्षा परीक्षा (एसईई) को पूरक (ग्रेडवृद्धि) परीक्षा आगामी साउनमा हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डले शुक्रबार नजिता सार्वजनिक गर्दै पूरक परीक्षा साउन २९ गते बिहीबारदेखि हुने जनाएको छ ।अन्तिम ग्रेड ‘सी’ वा ‘सी’भन्दा कम प्राप्त गरेका विद्यार्थीले पूरक परीक्षा दिन पाउने छन् । बढीमा दुई विषयसम्म अनुपस्थित रहेका परीक्षार्थीले पनि पूरक परीक्षा दिन पाउने बोर्डले जनाएको छ । परीक्षा रद्द भएका परीक्षार्थीले पूरक परीक्षा दिन पाउने छैनन् ।













