काठमाण्डौ । प्रधानमन्त्री केपी शर्मा ओलीले फेसबुक तथा सामाजिक सञ्जालमा मुख छाड्नेहरूको पारिवारिक स्थिति तनावपूर्ण हुने दाबी गरेका छन्। बुधवार युवाको एक कार्यक्रममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्तो दाबी गरेका हुन्।

‘यो फेसबुक–सेसबुकमा मुख छाडेर हिँड्नेहरूको पारिवारिक स्थिति तपाईँहरूले उनीहरूको परिवारभित्र के छ? भनेर हेर्नुभयो भने टेन्सन हुन्छ,’ प्रधानमन्त्री ओलीले भने, ‘किनभने त्यो आदत हो। त्यस बानीले गर्दा खेरी उ आफै तनावमा हुन्छ।’ त्यसैले यो तनावबाट मुक्त हुन युवालाई उनले सुझाव दिए।

प्रधानमन्त्री ओलीले चित्त नबुझाउने प्रवृत्तिले कसैको स्वास्थ्यलाई पनि राम्रो नगर्ने बताए। ‘असन्तुष्ट हुँदा अरूलाई मुख छाडेर हिँड्ने, गाली गरेर हिँड्ने, काम केही नगर्ने, नकारात्मक ढंगले मात्रै चल्ने, त्यसले आफूलाई पनि राम्रो गर्दैन, आफ्नो स्वास्थ्य पनि राम्रो गर्दैन, पारिवारिक स्वास्थ्य पनि राम्रो गर्दैन, सामाजिक स्वास्थ्य पनि राम्रो गर्दैन,’ प्रधानमन्त्री ओलीले भने।