काठमाडौँ । कांग्रेस सभापति शेरबहादुर देउवाले सरकारबारेमा जथाभावी टिप्पणी नगर्न नेताहरुलाई निर्देशन दिएका छन्। बिहीबार आफ्नै निवास बुढानिलकण्ठमा पदाधिकारी बैठक राखेर देउवाले आपसमा छलफल गरेर मात्रै सरकारका विरुद्धमा धारणा राख्न भनेका हुन्।



एमालेसँगको सत्ता सहकार्यमा रहेको कांग्रेसका अधिकांश नेताहरु पछिल्लो समय सरकारको काम कारबाहीप्रति असन्तुष्ट छन्। अझ प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा गएको भन्दै नेताहरु शेखर कोइराला, महान्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले निरन्तर सरकारको आलोचनालाई तीव्रता दिएका छन्।
कांग्रेसका प्रभावशाली नेताहरु सरकारको आलोचनामा उत्रिँदा विपक्षी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले ओली नेतृत्वको सरकार ढल्ने दाबी गरेपछि राजनीतिक बजारमा तरंग उत्पन्न भएको थियो।

बुधबार दुई दल सम्मेलित राजनीतिक संयन्त्रको बैठक राखेर प्रधानमन्त्री ओली र सभापति देउवाले अवस्था ठीकठाक रहेको सन्देश दिएका थिए। लगत्तै देउवाले बिहीबार बिहान पार्टीका तर्फबाट सरकारमा सहभागी मन्त्रीहरुसहित पदाधिकारी बैठक राखेर कुराकानी गरेका हुन्।
बैठकपछि प्रवक्ता प्रकाशशरण महतले व्यक्तिगत रुपमा सरकारका विरुद्धमा नबोल्न आग्रह गरिएको र नेताहरुले त्यसलाई महसुस गरेको जानकारी दिए।
महतले भने, ‘हामीले आफ्ना भनाइ बाहिर राख्नुभन्दा सम्बन्धित संरचनामा राख्नुपर्यो। त्यहाँबाट आएका निष्कर्षलाई मात्रै बाहिर व्यक्त गरिनुपर्छ। उहाँहरुले आफ्ना कुरा पनि राख्नुभयो। अब यसरी जानुपर्छ भन्ने कुरा भएको छ। हामीले भनेको कुरालाई उहाँहरुले महसुस गर्नुभएको छ।’
सरकारको विरुद्धमा नबोल्न सभापति देउवाले निर्देशन दिए पनि महामन्त्री शर्माले भने बैठक लगत्तै प्रधानमन्त्रीलाई आफ्ना मात्रै मन्त्री राखेर सरकार चलाउन सुझाव दिएका छन्। शर्माले भने, ‘जो प्रधानमन्त्री उसैको टिम । यसमा सहमत होऔँ । काँग्रेसका मन्त्रीहरूका कारण काम गर्न गाह्रो भयो भने प्रधानमन्त्रीलाई भन्नुपर्यो। एमालेको प्रधानमन्त्री हुँदा खेरी एमालेको टिम दिने टोटल । बरु, अरू साना दललाई गाँसौँला, काँग्रेस बाहिरिने।’
बैठकमा दुई दलीय गठबन्धनमा समस्या नभएको र भएका कमी कमजोरीलाई सच्याएर अघि बढ्नुपर्ने निष्कर्ष निकालिएको प्रवक्ता महतले जानकारी दिए। सरकारले आफ्नो पर्फर्मेन्स राम्रो बनाएर अघि बढ्नुपर्ने कुराकानी भएको उनले बताए। ‘सरकारको पर्फर्मेन्स अझ राम्रो हुनुपर्छ। समन्वय बढी गरिनुपर्छ गठबन्धनबीच, सन्तुलन पनि गरिनुपर्छ। सरकारले तालमेलाअझ राम्रो बनाएर काम गर्नुपर्छ,’ उनले भने।
सरकार सञ्चालनका विषयमा प्रधानमन्त्री ओलीसँग कुरा भइरहेको र आवश्यक परे अझ कुरा गर्ने आश्वासन सभापति देउवाले दिएका छन्। देउवाको भनाइ उद्धृत गर्दै अर्का एक पदाधिकारीले भने, ‘मैंले ओलीजीसँग निरन्तर कुरा गरिरहेको छु। थप समन्वय, छलफल आवश्यक छ त्यहाँ भइरहको छ। म अझ गर्छु।’ सरकारले गर्ने नियुक्ति आफूसँगको समन्वयनमा गर्नुपर्ने देउवाले ओलीलाई बताएको महतको भनाइ थियो।
विपक्षी माओवादीका नेता प्रचण्डले सरकार ढल्ने बताए पनि अवस्था फरक रहेको महतले बताए। उनले भने, ‘प्रतिपक्षी दलले सरकार ढलिहालोस् भन्ने हुन्छ। तर उहाँहरुले भनेकै आधारमा सरकार बन्ने र भत्किने हुँदैन।’












