धनगढी । सुदूरपश्चिमका करातेमा अन्तर्राष्ट्रिय खेलाडी र प्रशिक्षकलाई नगदसहित सम्मान गरिएको छ। नेपाल कराते महासंघ सुदूरपश्चिम प्रदेशले विभिन्न व्यक्तिलाई बुधवार सम्मान गरेको हो।



धनगढीमा सुरु भएको प्रथम सुदूरपश्चिम प्रदेश कराते प्रतियोगिता २०८१ को उद्घाटन समारोहमा खेलाडी अन्तर्राष्ट्रिय खेलाडी वर्षा साउद, अन्तर्राष्ट्रिय खेलाडी ललित खत्री, स्वयंसेवक प्रशिक्षक बबरजंग शाही, नेपाल कराते महासंघ कैलाली संस्थापक अध्यक्ष कर्णबहादुर चन्दलाई सम्मान गरिएको हो। वर्षाले जापानमा ओपन कराते च्याम्पियनसिपमा फाइटमा सिल्भर, थर्ड साउथ एसियन गेममा कास्य, पहिलो एपीएफ खुला अन्तर्राष्ट्रिय च्याम्पियनसिपमा स्वर्ण जितेकी थिईन्।
यस्तै धनगढीमा सम्पन्न दक्षिण एसियाली कराते प्रतियोगिताको छैठौँ, सातौ र आठौ संस्करण लगातार तीन स्वर्ण जितेकी थिईन्। यस्तै अन्तर्राष्ट्रिय खेलाडी तथा प्रशिक्षक, कैलाली जिल्ला खेलकुद समितिका अध्यक्ष ललित खत्रीलाई अन्तर्राष्ट्रिय पदक प्राप्त गरि देशको छवि उच्च पारेकोमा सम्मान गरिएको हो।
स्वयंसेवक कराते प्रशिक्षण बबरजंग शाहीलाई खेलाडी तथा स्वयंसेवक प्रशिक्षण मार्फत खेल क्षेत्र विकासमा योगदान गरेवापत सम्मानित गरिएको छ। उनलाई गोपाल खड्का स्मृति उत्कृष्ट स्वयंसेवक प्रशिक्षक अवार्ड २०८१ बाट सम्मान गरिएको हो। यस्तै नेपाल कराते महासंघ कैलालीका संस्थापक अध्यक्ष कर्ण चन्दलाई कराते मार्फत खेल क्षेत्र विकासमा योगदान गरेबापत नगद दस हजार रूपैया सहित स्वर्गीय किशोर हमाल स्मृति लाइफटाइम एचिभमेन्ट २०८१ अवार्ड प्रदान गरिएको हो।
प्रतिनिधि सभा सदस्य डिल्लीराज पन्त विशिष्ट अतिथि रहेको उक्त समारोहमा सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाह प्रमुख अतिथि थिए ।













