कैलाली । मधेस केन्द्रित दलहरूले आज सङ्घीय लोकतान्त्रिक मोर्चाको घोषणा गर्ने कार्यक्रम तय गरेका छन् । आठ दलको मधेसी मोर्चाको तयारी भइरहेको थियो तर, मोर्चा घोषणामा ६ दल मात्रै सहभागी हुने देखिएको छ ।



अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी नरहने बताइसकेको छ भने नागरिक उन्मुक्ति पार्टीले पनि तत्काल मोर्चामा सहभागी नहुने सङ्केत गरेको छ । मोर्चा घोषणा सभामा उपस्थित हुन हृदयेश त्रिपाठीले रेशम चौधरीलाई सम्पर्क गरेका थिए । तर, रेशमले भने आफू आज उपस्थित हुन नसक्ने सन्देश हृदयेशलाई सुनाए । ‘मोर्चाको बैठकमा आउनु होला’ रेशमलाई भने । ‘म आउँदिन , कुरा बुझ्न प्रतिनिधि पठाउँछु’ हृदयेशलाई सुनाए ।
उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी नेपाल, महन्त ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी नेपाल, डा सिके राउत नेतृत्वको जनमत पार्टी, राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति पार्टी नेपाल, हृदयेश त्रिपाठी नेतृत्वको जनता प्रगतिशील पार्टी, र वृशेषचन्द्र लाल नेतृत्वको तराई मधेस लोकतान्त्रिक पार्टी मोर्चामा सहभागी हुने छन् । मोर्चाको आलोपालो नेतृत्व गर्ने बताइएको छ । अहिले पहिलो चरणमा जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले नेतृत्व गर्ने बताएको छ । नागरिक उन्मुक्ति पार्टीले भने पुरानै दलहरूबाट नेतृत्व हुने नयाँ मोर्चाको औचित्य धेरै हुन नसक्ने ठहर गरेको छ ।

‘सात दलीय मोर्चा किन आवश्यक परेको छ । टिकापुर घटनामा सोझा थारु नागरिकलाई झुटा मुद्दा लागेकै छ । मधेश आन्दोलनमा पनि न्यायको आवाज उठाएकै भरमा जेलमा छन्’ उनले भने, ‘हामीले अहिले नागरिकहरूको न्यायको विषयमा उठाउनु पर्छ । सत्ता र शक्ति गौण हो ।’












