धनगढी । मंगलबार राति सुदूरपश्चिम प्रदेशकाे राजधानी धनगढीको ट्राफिक चौराहमा ड्युटीमा रहेका प्रहरीमाथि चक्कु प्रहार गर्ने प्रयास भएको छ ।

राति ८ बजेतिर ट्राफिक चौराहमा ‘हरहर महादेव’ भन्दै हातमा चक्कु लिएर सडकमा हिँडिरहेका एक युवकलाई प्रहरीले नियन्त्रणमा लिन खोजेको थियो ।

सामाजिक सञ्जालमा भाइरल भइरहेको भिडियोमा उनलाई नियन्त्रणमा लिन खोज्दा क्रममा प्रहरीमाथि ती युवकले चक्कु प्रहार गर्ने प्रयास गरेको देखिन्छ ।

प्रहरी स्रोतकाअनुसार डिउटीमा रहेका प्रहरीमाथि चक्कु प्रहार गर्न खोज्ने युवकलाई मंगलबार राति नै पक्राउ गरिएको छ ।

पक्राउ पर्नेमा धनगढी उपमहानगरपालिका–१४ बस्ने ३६ वर्षीय टेकबहादुर टमटा रहेका छन् ।

भिडियोमा भारतीय नागरिक भनिए पनि उनी नेपाली भएको खुलेको हो । उनलाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखिएको छ ।

ती युवक मानसिक रुपमा अस्वस्थ रहेको बुझिएको प्रहरीले जनाएको छ ।