कैलाली । जिल्लाको सडकपुर बौनिया बजारमा बर्दगोरिया सेती लोकमार्ग पहिचान महोत्सव २०८१ सुरु भएको छ ।



बौनिया बजार व्यवस्थापन समितिको आयोजनामा सुरु भएको महोत्सवको उद्धघाटन सुदूरपश्चिम प्रदेश सरकारका माननिय मुख्यमन्त्री कमलबहादुर शाहले गर्नुभयो ।
बौनिया बजार व्यवस्थापन समितिका उपाध्यक्ष देव चौधरीको स्वागत मन्तव्य संगै सुरु भएको उद्घाटन कार्यक्रममा एनटीबीएस बोर्डिङ स्कुलका बिद्यार्थीहरुले स्वागत नृत्य प्रस्तुत गरेका थिए ।
बर्दगोरिया गाउँपालिका–१ को बसपार्क स्थलमा महोत्सव सञ्चालन भइरहेको महोत्सब पुस ९ गते देखि १८ गतेसम्म सञ्चालन हुनेछ । ।
महोत्सवमा राष्ट्रिय तथा स्थानीय कलाकारको प्रस्तुतिसँगै स्थानिय विद्यालय स्तरीय नृत्य प्रतियोगिता, रमाइलो मेला, कृषि उत्पादनको प्रदर्शनी रहेको आयोजकले जनाएको छ । महोत्सव अवलोकनका लागि सर्वसाधारणलाई एक सयका दरले राखिएको छ भने विद्यार्थी र ज्येष्ठ नागरिकहरुलाई रु ७० टिकट दर राखिएको छ ।
महोत्सवले निर्माणाधीन सुदूरपश्चिम प्रदेशको गौरवको आयोजना सेती राजमार्ग निर्माणमा राज्यको ध्यानाकर्षण गराउन तथा स्थानीय धार्मिक तथा पर्यटकीय क्षेत्रको विकास तथा प्रचारप्रसारमा टेवा पुग्ने अपेक्षा गरिएको बौनिया बजार व्यवस्थापन समितिका अध्यक्ष देवराजसिंह स्वारले बताए ।
‘स्थानीय धार्मिक तथा पर्यटकीय क्षेत्र बर्दगोरिया धाम, पुरैना ताल, पिरुवा पिकनिक पार्क, घोडाघोडी ताल, कर्णाली चिसापानी, लगायतको विकास, संरक्षण र प्रचारप्रसारलाई लक्षित गर्दै पर्यटन प्रवर्द्धनमा टेवा पुगाउन महोत्सवले विशेष भूमिका खेल्नेछ,’ उनले भने, ‘ महोत्सवबाट यस क्षेत्रको आर्थिक एवम् सामाजिक विकासमा सकारात्मक प्रभाव पार्ने र सेती लोकमार्ग निर्माणले तीव्रता पाउने अपेक्षा गरेका छौं ।’

छिमेकी मुलुक भारत र चीनको ताक्लाकोटसम्म जोड्ने त्रिदेशीय महत्वको सेती राजमार्गको पहिचान र निर्माण कार्यलाई तीव्रता दिन महोत्सवको आयोजना गरिएको आयोजकको भनाइ छ । हरेक वर्ष सेती राजमार्ग निर्माणका लागि सरकारले बजेट छुट्याए पनि निर्माण कार्य सुस्त गतिमा भइरहेको छ । आयोजनालाई गति दिनका लागि दुई भागमा विभाजन गरी निर्माण कार्य भएपनि ढिलासुस्ती भएको हो । सेती राजमार्ग दक्षिण खण्ड टिकापुर–लोडे–चैनपुर ९२४२ किलोमिटर र उत्तर खण्ड चैनपुर–ताक्लाकोट ९११७ किलोमिटर दुई खण्डमा विभाजन गरी निर्माण कार्य भइरहेको छ ।
महोत्सवको उद्घाटन कार्यक्रमको सञ्चालन चर्चित उद्घोषिका तथा गायिका मञ्जु पौडेल र बौनिया बजार व्यवस्थापन समितिका महासचिव राजेश गौतमले गरेका थिए ।















