काठमाडौँ । शुक्रबारदेखि निरन्तर भइरहेको देशव्यापी अविरल वर्षाका कारण विभिन्न स्थानमा सञ्चार सेवामा समस्या देखिन थालेका छन् ।



काठमाडौं उपत्यका लगायतका विभिन्न स्थानमा टेलिफोन र इन्टरनेटका तारहरूमा क्षति पुग्ने, डुबानका कारण विद्युत् सेवा अवरुद्ध हुने लगायत कारणले फोन नलाग्ने, इन्टरनेट सेवा समस्या देखिने जस्ता गुनासाहरू आइरहेका छन् ।
निजी क्षेत्रको दूरसञ्चार सेवा प्रदायक एनसेलले शनिबार बिहान एक सूचना जारी गर्दै ‘खराब मौसम र निरन्तरको भारी वर्षाका कारण कम्पनीले प्रवाह गर्दै आएका सेवाहरू अवरुद्ध हुन पुगेको’ जनाएको छ ।
अवरुद्ध सेवा यथाशीघ्र सुचारु गर्नका लागि काम भइरहेको पनि कम्पनीले उल्लेख गरेको छ । सरकारी स्वामित्वको नेपाल टेलिकमले भने पहाडी जिल्लाहरूमा तार चुँडिनेजस्ता समस्या आएको भए पनि एकदमै ठूलो समस्याको गुनासो अहिलेसम्म नआएको उल्लेख गरेको छ ।
‘हामीले हाम्रा आवश्यक जनशक्तिलाई उच्च सतर्कतामा रहन निर्देशन दिएका छौं र सञ्चार सेवा सकेसम्म समस्या नआओस् भन्नका लागि सचेत छौं,’ नेपालका टेलिकमका प्रवक्ता हरि ढकालले भने, ‘जल तथा मौमस विज्ञान विभाग लगायतका सम्बन्द्ध सरकारी निकायहरूसँग मिलेर हामीले प्रयोगकर्ताहरूलाई विपद्सम्बन्धी जानकारीहरू पुर्याउन सहकार्य गरिरहेका छौं ।’













