साउन १४, काठमाण्डौं । संक्रमणकालीन न्याय सम्बन्धित गठित संयन्त्रको बैठक आज बिहान सिंहदरबारस्थित गृह मन्त्रालयमा सुरु भएको छ ।संक्रमणकालीन न्याय सम्बन्धि विधेयकको विषय टुंगो लगाउन संयन्त्रका सदस्यसहित सरोकारवाला निकाय बैठकमा सहभागी हुनुहुन्छ ।



बैठकमा नेपाली कांग्रेसबाट गृहमन्त्री रमेश लेखक, एमालेबाट मुख्य सचेतक महेश बर्तौला र माओवादी केन्द्रबाट उपमहासचिव जर्नादन शर्मा संयन्त्रमा हुनुहुन्छ । त्यसका साथै आजको बैठक कानून, न्याय तथा संसदीय मामिला मन्त्री अजय कुमार चौरसिया, संसदको कानून, न्याय तथा मानव अधिकार समितिका सभापति बिमला सुवेदी र महान्याधिवक्ता रमेश बडाल लगायतको सहभागिता छ ।यसअघि पनि शुक्रबार गृह मन्त्रालयमा बसेको संयन्त्रको बैठकमा संक्रमणकालीन न्याय सम्बन्धि विधेयकमाथि सहमतिको जुटाउने विषयमा छलफल गरेको थियो ।



उक्त बैठकमा संक्रमणकालीन न्याय सम्बन्धि विधेयकमाथि सैद्धान्तिक सहमति जुटाएको बताइएको छ । सो सम्वन्धमा कानून मन्त्री, महान्याधिवक्ता र सरोकारवालासँग पनि छलफल गर्ने निर्णयपछि सोमबारको बैठकमा सरोकारवाला निकायका पदाधीकारीहरुको सहभागिता भएको छ ।





