साउन १२, काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले संविधान संशोधनको विषयमा बहस गर्न आवश्यक रहेको बताएका छन् । पुष्पलालको जन्म शताब्दीको अवसर आयोजित प्रवचन गोष्ठीमा आफ्नो धारणा राख्दै अध्यक्ष नेपालले संविधान संशोधन आवश्यक रहेको र त्यसका लागि व्यापक छलफल र बहस हुनुपर्ने कुरामा जोड दिए ।



‘संविधान संशोधनका लागि बहस र छलफल हुनुपर्ने तर यहाँ गुपचुपमा संविधान संशोधन गर्ने कार्य हुन गइरहेको छ’ उनले भने, ‘त्यसको आवश्यक किन प¥यो ?’ अध्यक्ष नेपालले संविधान संशोधन नभई त्यसको नाममा अर्कै खेलोमेलो हुन लागेको आशङ्का समेत व्यक्त गरे । लोकतान्त्रिक गणतन्त्रलाई कमजोर बनाउने कुनै प्रकारको षड्यन्त्र नहोस् भनी सचेत गराउँदै उनले नेपाली जनताले सुशासन र देशलाई समृद्ध बनाउन चाहेको र यसको लागि बहस हुनु आवश्यक रहेको बताए ।
नेपाली समाजको चरित्र अझै पनि अर्धसमान्तवादी रहेको बताउँदै नेपालले नेपाली समाजवादका बारेमा चर्चा गर्नु आवश्यक रहेको बताए । अध्यक्ष नेपालले नेपालीपनको समाजवाद हुनुपर्नेमा जोड दिँदै त्यो व्यवहारिक हुनुपर्नेमा जोड दिए । यसका लागि व्यापक बहस र छलफलको आवश्यकता रहेको समेत उनले बताए । अध्यक्ष नेपालले पुष्पलालले जसरी कम्युनिस्ट पार्टीलाई अगाडी बढाउने सिद्धान्तलाई पछ्याउँदै जानुपर्ने समेत बताए । पुष्पलालबाट आफूहरूले धेरै कुरा सिक्नुपर्ने रहेको बताउँदै उनले राजनीतिमा चुनौतीहरू आउने र त्यसको सामना गर्दै जानुपर्ने बताए ।

कम्युनिस्ट पार्टीमा नीति प्रधान हुने बताउँदै उनले सही नीति भयो भने भने सही लक्ष्य प्राप्त गर्न सकिने बताए । अध्यक्ष नेपालले कम्युनिस्ट पार्टीलाई एकताबद्ध बनाएर अगाडि बढाउनुपर्ने समेत बताए । उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी नेपालले पनि समाजवाद र कम्युनिस्ट विचारलाई अँगालेका कारण कुरा मिलेको अध्यक्ष नेपालले बताए । उनले भने, ‘उपेन्द्रजी त्यही कारणले आउनुभयो तर ओलीले नराम्रो रूपमा लिन्छन् कि भनेर देउवाजी आउनु भएन ।’












