असार ३१, काठ्माण्डौ । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रपति भवन शीतल निवासमा प्रधानमन्त्री ओलीको शपथग्रहण गराएका हुन्।

नेपाली कांग्रेसको समर्थनमा संविधानको धारा ७६ (२) बमोजिम ओली आइतवार प्रधानमन्त्री नियुक्त भएका थिए।

राष्ट्रपति कार्यालयका अनुसार ओलीको नेतृत्वमा २२ सदस्यीय मन्त्रिमण्डल गठन भएको छ। मन्त्रिपरिषद्‌का अन्य सदस्यले पनि शपथग्रहण गरेका छन्।
नेपालको संविधानअनुसार उनले प्रतिनिधिसभाबाट ३० दिनभित्र विश्वासको मत लिनुपर्ने हुन्छ।

शपथग्रहण समारोहमा संवैधानिक अङ्गका प्रमुख, भूतपूर्वप्रधानमन्त्री तथा विभिन्न देशका कूटनीतिज्ञहरू उपस्थित थिए।

समारोहमा ओलीका वयोवृद्ध पिता र ओलीकी पत्नी राधिका शाक्य पनि उपस्थित थिए।

यद्यपि पूर्वप्रधानमन्त्रीमध्ये माधवकुमार नेपाल भने राष्ट्रपति कार्यालयको प्राङ्गणमा आयोजित कार्यक्रममा सहभागी भएनन्।

प्रधानमन्त्रीको रूपमा ओलीले शपथग्रहण गरेलगत्तै शीतल निवासमा केही मन्त्रीहरूले पनि पद तथा गोपनीयताको शपथ लिएका छन्।

कांग्रेसबाट उपप्रधानमन्त्रीसहित सहरी विकास मन्त्रीको जिम्मेवारी लिएर पार्टीका पूर्वउपसभापति प्रकाशमान सिंह सरकारमा सहभागी भएका छन्।

एमालेबाट उपप्रधानमन्त्री तथा अर्थमन्त्रीका रूपमा विष्णु पौडेल सरकारमा सहभागी छन्।

राष्ट्रपतिले पहिला दुई उपप्रधानमन्त्रीलाई र त्यसपछि नवनियुक्त मन्त्रीहरूलाई शपथ गराएका थिए।

कांग्रेस सभापति शेरबहादुर देउवाकी पत्नी तथा सांसद आरजु राणा परराष्ट्रमन्त्री बनेकी छन्। उनी संसद्को कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिकी सभापति हुन्।

देउवासँग निकट मानिने नेता रमेश लेखकले गृहमन्त्रीको रूपमा पद तथा गोपनीयताको शपथ लिएका छन्।

यसैबीच भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालको प्रधानमन्त्री नियुक्त भएकोमा केपी शर्मा ओलीलाई बधाई दिएका छन्।

सामाजिक सञ्जाल ‘एक्स’मा लेख्दै उनले “दुई देशको मित्रवत् सम्बन्धलाई थप अभिवृद्धि गर्न र जनताको प्रगति र समृद्धिमा दुवै पक्षलाई लाभ हुने गरी सहकार्य विस्तार गर्न आफूले चाहेको” उल्लेख गरेका छन्।

मन्त्रिपरिषद्‌मा एमालेका पृथ्वी सुब्बा गुरुङलाई सञ्चार तथा सूचना प्रविधि मन्त्रालय र लोकतान्त्रिक समाजवादी पार्टीका नेता शरत्‌सिंह भण्डारी श्रम तथा रोजगार मन्त्रालयको जिम्मेवारी दिइएको छ।

मन्त्रिमण्डलको वरीयता क्रममा कांग्रेसका कतिपय पदाधिकारीभन्दा माथि परराष्ट्रमन्त्री नियुक्त आरजु राणा छिन्।

जनता समाजवादी पार्टीका प्रदीप यादव खानेपानीमन्त्री नियुक्त भएका छन् भने एमालेका बलराम अधिकारी भूमि व्यवस्थामन्त्री बनेका छन्।

प्रचण्ड सरकारमा उद्योग तथा वाणिज्यमन्त्री रहेका एमालेका दामोदर भण्डारीलाई उक्त पदमा नै निरन्तरता दिइएको छ।

कांग्रेसका प्रदीप पौडेलले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको जिम्मेवारी पाएका छन् भने अजयकुमार चौरसिया कानुनमन्त्री बनेका छन्।

कांग्रेस सहमहामन्त्री बद्रीकुमार पाण्डे संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री बनेका छन्।