असोज १८ कैलाली । कैलालीको बर्दगोरियाका युवा नेता युवा पुस्तामाझ सक्रिय रहँदै आएका धिरज शाही सुदूरपश्चिम प्रदेशको खुला युवा कोटाबाट केन्द्रीय सदस्य पदका लागि दौडमा उत्रिएका छन् । भर्खरै सम्पन्न क्षेत्रिय अधिबेशन बाट युवा समुह कोटाबाट महाधिबेशन प्रतिनिधिमा लोकप्रिय मतसहित शाही निर्वाचित भएका थिए ।

पार्टीभित्र नयाँ पुस्ताको नेतृत्व स्थापित गर्नुपर्ने बहस चलिरहेका बेला शाहीको उम्मेदवारीलाई युवा प्रतिनिधित्वका दृष्टिले चासोका साथ हेरिएको छ । लामो समयदेखि संगठनात्मक गतिविधिमा सक्रिय रहँदै आएका शाहीले युवाको सहभागिता केवल समर्थक वा कार्यकर्ताको भूमिकामा सीमित नराखी पार्टीको निर्णय तहमा समेत सुनिश्चित गर्नुपर्ने धारणा अघि सार्दै आएका छन्। यही सोचका साथ आफू केन्द्रीय सदस्यको प्रतिस्पर्धामा आएको उनको भनाइ छ ।

युवाको प्रतिनिधित्वलाई प्राथमिकता :
नेपालको राजनीतिमा पछिल्लो समय युवा पुस्ताको सहभागिता र नेतृत्व हस्तान्तरणको विषय महत्वपूर्ण बहसका रूपमा उठिरहेको छ । पुरानो राजनीतिक शैलीप्रति युवाहरूमा देखिएको असन्तुष्टि र नयाँ पुस्ताबाट नेतृत्वको अपेक्षा बढिरहेका बेला शाहीको उम्मेदवारीलाई पनि सोही परिवेशसँग जोडेर हेरिएको छ ।
सुदूरपश्चिमका युवाका समस्या, रोजगारी, शिक्षा, उद्यमशीलता, प्रविधिको प्रयोग तथा राजनीतिक अवसरमा युवाको पहुँच बढाउनुपर्ने विषयलाई शाहीले प्राथमिकताका रूपमा उठाउँदै आएका छन् । उनले केन्द्रीय तहमा पुग्ने अवसर पाए सुदूरपश्चिमका युवाको आवाजलाई पार्टीको नीति निर्माण र निर्णय प्रक्रियामा प्रभावकारी रूपमा प्रस्तुत गर्ने प्रतिबद्धता जनाएका छन्।
सुदूरपश्चिमको आवाज केन्द्रसम्म पु¥याउने दाबी :

भौगोलिक रूपमा विकट तथा विकासका हिसाबले अझै धेरै चुनौती सामना गरिरहेको सुदूरपश्चिम प्रदेशका आफ्नै राजनीतिक, आर्थिक र सामाजिक मुद्दा छन् । प्रदेशका युवामा रोजगारीको अभाव, विदेश पलायन, शिक्षा तथा स्वास्थ्यको पहुँच र स्थानीय स्तरमा अवसर सिर्जनाको विषय प्रमुख चिन्ताका रूपमा रहेका छन् ।
यही अपेक्षाबीच शाहीले आफूलाई नयाँ पुस्ताको प्रतिनिधिका रूपमा प्रस्तुत गर्दै केन्द्रीय सदस्यको दौडमा अघि बढेका हुन् । उनको उम्मेदवारी सफल भए सुदूरपश्चिमबाट केन्द्रीय नेतृत्वमा युवाको उपस्थिति थप बलियो बन्ने अपेक्षा गरिएको छ । यद्यपि, अन्तिम परिणाम भने प्रतिनिधिहरूको समर्थन, पार्टीभित्रको समीकरण र निर्वाचन प्रक्रियाले निर्धारण गर्नेछ ।