जेठ २८, कैलाली । सामाजिक सुरक्षा कोषमा आबद्ध श्रमिक तथा योगदानकर्ताले अब धनगढीस्थित सामाजिक सुरक्षा कोष अन्तर्गतको उपचार सुविधा निसर्ग हस्पिटल एण्ड रिसर्च सेन्टर बाट पनि प्राप्त गर्न सक्ने भएका छन्। यससँगै सुदूरपश्चिमका हजारौं श्रमिक तथा उनका परिवारले गुणस्तरीय स्वास्थ्य सेवासहित आर्थिक राहत पाउने अपेक्षा गरिएको छ।

CP-HOSPITAL

अस्पतालका प्रशासन प्रमुख रामप्रसाद ओझाका अनुसार सामाजिक सुरक्षा कोषमा सूचीकृत व्यक्तिहरूलाई अस्पतालमार्फत उपचार सेवा उपलब्ध गराउन थालिएको छ। उनका अनुसार यस व्यवस्थाले योगदानकर्तामाथि पर्ने उपचार खर्चको आर्थिक भार कम गर्न महत्वपूर्ण सहयोग पुग्नेछ।

कोषमा नियमित योगदान गरिरहेका व्यक्तिहरूले निसर्ग अस्पतालमा उपचार गराउँदा तोकिएको मापदण्डअनुसार उपचार खर्चको ८० प्रतिशत रकम कोषबाट र २० प्रतिशत रकम स्वयं सेवाग्राहीले व्यहोर्नुपर्ने व्यवस्था रहेको छ। औषधि उपचार तथा स्वास्थ्य सुरक्षा योजनाअन्तर्गत आबद्ध योगदानकर्ताले वार्षिक अधिकतम एक लाख रुपैयाँसम्मको उपचार सुविधा प्राप्त गर्न सक्नेछन्। यो सुविधा लिन योगदानकर्ताले कम्तीमा तीन महिना नियमित रूपमा कोषमा योगदान गरेको हुनुपर्नेछ।

उपचारपछि चिकित्सकको प्रेस्क्रिप्सन, औषधि तथा उपचारसम्बन्धी सक्कल बिल, सामाजिक सुरक्षा कोषको परिचयपत्रलगायत आवश्यक कागजात पेश गरी दाबी प्रक्रिया पूरा गर्न सकिने अस्पतालले जनाएको छ।

सामाजिक सुरक्षा कोषले औषधि उपचार तथा स्वास्थ्य सुरक्षासँगै मातृत्व सुरक्षा, दुर्घटना तथा अशक्तता सुरक्षा, आश्रित परिवार सुरक्षा तथा उपदान सुविधा पनि उपलब्ध गराउँदै आएको छ।

धनगढीमा सञ्चालित १०० शैयाको निसर्ग अस्पतालले विशेषज्ञ तथा सुपर–स्पेसियालिटी स्वास्थ्य सेवा प्रदान गर्दै आएको छ। अस्पतालमा अत्याधुनिक आईसीयू, एनआईसीयू, २४सै घण्टा आकस्मिक सेवा, शल्यक्रिया, प्रसूति तथा स्त्रीरोग, बालरोग, हाडजोर्नी तथा मेरुदण्ड, न्यूरो तथा नसा रोग उपचारलगायतका सेवा उपलब्ध छन्।

अस्पताल प्रशासनले सामाजिक सुरक्षा कोषमा आबद्ध सम्पूर्ण योगदानकर्तालाई आफूले पाउने स्वास्थ्य सुरक्षा सुविधाको पूर्ण उपयोग गर्न तथा आवश्यकता पर्दा अस्पतालबाट सेवा लिन आग्रह गरेको छ।