बौनिया ।  पश्चिम नेपालको तराई र भित्री मधेसका थारूले आज अट्वारी पर्व धुमधामसँग मनाउँदै छन् । दाजु र बहिनी, भाइ र दिदीको सम्बन्ध जोड्ने, बढाउने र सुधार्ने पर्वको रूपमा यो पर्वलाई लिइन्छ । यो पर्वमा दाजुभाइले विवाहित दिदीबहिनीलाई कोसेली दिने चलन छ । यो अनिवार्यजस्तै मानिन्छ । पश्चिम नेपालका थारूले कृष्ण जन्माष्टमीपछि अट्वारी मनाउँछन् । थारू जातिले ‘माघी’ र दसैँपछि ‘अट्वारी’ पर्वलाई तेस्रो ठूलो पर्वको रूपमा मनाउँदै आएका छन् । यो पर्वलाई थारू समुदायले दुई दिनसम्म मनाउँछन् ।

CP-HOSPITAL

हरितालिका तिजको अघिपछि पर्ने आइतबार मनाइने भएकोले यो पर्वलाई अट्वारी भनिएको हो । पश्चिम नेपालका भित्रि मधेस र तराईका दाङ, बाँके, बर्दिया, कैलाली, कञ्चनपुर तथा सुर्खेत जिल्लाका थारू जातिले यो पर्व उल्लासमय वातावरणमा मनाउने गर्दछन् ।

‘अट्वारी’ पर्वमा थारू समुदायका प्रायः पुरुष व्रत बस्छन् । पुरुषहरू भालेले डाँको छोड्नुभन्दा पहिले दर खान्छन् । यसलाई थारू समुदायले ‘भिन्स¥या’ भन्दछन् । पुरुषहरू निराहार ब्रत बस्छन् । र, दिउँसो गन्यारी काठबाट आगो निकालेर देवतालाई चढाउने रोटी पकाउँछन् । यो आगो मुखले फुक्न मिल्दैन । मुखले फुके अशुद्ध हुन्छ भन्ने मान्यता छ ।

‘अट्वारी’ मनाउने चलन थारू जाति संगठित भई बस्न थालेदेखि नै सुरु भएको मानिन्छ । यो पर्वसँग ऐतिहासिक घटना जोडिएको छ । पाँच पाण्डव र द्रौपती सुर्खेतको काँक्रेबिहार घुम्न गएको वेला दाङका थारू राजा दंगीशरणको राज्यमा शत्रुले आक्रमण गरेको खबर सुन्नेबित्तिकै तावामा पकाउन राखेको रोटी छोडेर भीम (भ्यावाँ) दंगीशरणको पक्षमा लडाइँ गर्न दाङ आएको र शत्रुलाई पराजित गरेको किंवदन्ती छ । त्यसैले भीमजस्तै बलियो हुन पाऊँ भनी अट्वारीमा एकतर्फ मात्र पकाएको रोटीले भीमको पूजा गरिन्छ ।

यही मान्यतालाई विश्वास गरी थारू समुदायले भीमजस्तो बलियो हुन पाऊँ भनी ‘अट्वारी’ पर्व मनाउन थालेको थारू संस्कृतविद बताउन्छन ।थारू राजा दंगीशरणको राज्यमा शत्रुले आक्रमण गरेको वेला भीमको सहयोगमा आइतबारका दिन विजय प्राप्त गरेको मान्यताअनुसार थारू समुदायले भीमका नाममा आइतबारका दिन ‘अट्वारी’ पर्व मनाउन थालेको विश्वास गरिन्छ ।

अट्वारीको दोस्रो दिन फह्रार

‘अट्वारी’को दोस्रो दिनलाई फह्रार गरिन्छ । अट्वारीको व्रत बस्ने पुरुषहरू बिहानै उठेर नजिकैको नदी, खोलामा गएर नुहाउँछन् । नुहाइसकेपछि बैठक कोठलाई लिपपोत गरी तीन, पाँच या सात थरीका तरकारी पकाउँछन् । तरकारीमा चना, मटर, केराउ, सिल्टुङको तरकारी अनिवार्य हुन्छ । फह्रार गर्नका लागि पोइँको पातको तरकारी पनि प्रायजसोले बनाउने गर्दछन् ।

यी विभिन्न थरीका तरकारी र भात टपरीमा राख्ने र आधा भाग आफ्ना चेलिबेटीका लागि अर्को टपरीमा राखिन्छ । र, सबै थरीका तरकारी र भात अलिकति झिकेर आगोलाई चढाइन्छ । यसलाई नै थारू समुदायले फह्रार कर्ना भन्दछन् ।

व्रत बसेका सबैले फह्रार गरिसकेपछि घरका सबैजना सँगै बसेर भात खान्छन् । अट्वारीको बेलुकीपख चेलिबेटीका लागि छुट्याइएको अग्रासनको रोटी र सोमबार बिहान गरिएको फह्रारको भात तथा तरकारी आफ्नो विवाहित चेलिबेटीलाई अग्रासनको रूपमा दिने चलन छ ।

थारू समुदायले अट्वारीको रोटीपुरी र तरकारी, भात आफ्ना चेलिबेटीलाई दिने गर्दछन् । यसलाई थारू समुदायले अग्रासन भन्छन् । परापूर्वकालदेखि नै अग्रासन दिने गरिएकोले विवाहित चेलिबेटीहरू अग्रासनको पर्खाइमा हुन्छन् । जबसम ‘अग्रासन’ दिन दाजुभाइ, काका, बाबा आउँदैनन् तबसम्म पर्खेर बसेका हुन्छन् ।

थारू समुदायको अट्वारी पर्व दाजु–बहिनी, दिदी र भाइबीचको सम्बन्ध जोड्ने, बढाउने र बजबुत बनाउने पर्वको रूपमा लिइन्छ । अघिपछि दाजु–बहिनी, भाइ र दिदीबीच भएको मनमुटाव पनि अट्वारी पर्वले मेटाउने गर्दछ ।

वर्षभरि दिदीबहिनीको घरमा नगएका दाजुभाइ जसरी भए पनि अट्वारीको अग्रासन दिन जान्छन् । वर्षभरिको रिसराग पनि ‘अट्वारी’को अग्रासनले मेटाउने गर्दछ । त्यसैले ‘अट्वारी’ पर्वलाई मेलमिलाप र सदभावको पर्वको रूपमा लिइन्छ । यो पर्वले दाजुभाइ र दिदिबहिनीको भेटघाट गर्ने अवसर जुराउने गरेको छ ।

सुदूरपश्चिममा सार्वजनिक बिदा

अट्वारी पर्वको उपलक्ष्यमा सुदूरपश्चिम प्रदेश सरकारले आज सार्वजनिक बिदा दिएको छ । थारु समुदायको अट्वारी पर्वको उपलक्ष्यमा प्रदेश सरकारले सार्वजनिक बिदा दिएको हो । सबै सरकारी कार्यालय तथा सार्वजनिक निकायमा बिदा रहने प्रदेश राजपत्रमा उल्लेख छ । पर्वको अवसरमा कैलारी गाउँपालिका, भजनी नगरपालिका लगायतले पालिकामा दुई दिन सार्वजनिक बिदा दिएका छन् ।