जेठ ११, काठमाण्डौ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग भइरहेको वार्तामा हतार नगर्न अमेरिकी प्रतिनिधिहरूलाई निर्देशन दिएका छन् । अमेरिकी सञ्चारमाध्यमका अनुसार प्रस्तावित सम्झौतामा ६० दिने युद्धविराम विस्तार, स्ट्रेट अफ होर्मुज पुनः खोल्ने तथा इरानको आणविक कार्यक्रमबारे थप वार्ता समावेश भएको बिबिसीले जनाएको छ ।

CP-HOSPITAL

ट्रम्पले सामाजिक सञ्जालमार्फत वार्ता रचनात्मक रूपमा अघि बढिरहेको बताए पनि दुवैपक्षले समय लिएर सही निर्णय गर्नुपर्ने उल्लेख गरेका छन् । यसअघि उनले सम्झौता लगभग तयार भइसकेको बताएका थिए ।

इरानी सञ्चारमाध्यमले अझै केही विषयमा असहमति रहेको बताएका छन् । इरानका विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बघाईले पनि वार्तामा प्रगति भए पनि मुख्य मुद्दामा सहमति हुन बाँकी रहेको बताएका छन् ।

यस सम्भावित सम्झौताले अमेरिकी रिपब्लिकन दलभित्र मतभेद सिर्जना गरेको छ । केही नेताहरूले सम्झौता इरानप्रति धेरै नरम भएको टिप्पणी गरेका छन् भने अन्यले यसलाई कूटनीतिक सफलता बताएका छन् ।

अमेरिका र इजरायलले २८ फेब्रुअरीमा इरानमाथि आक्रमण गरेपछि मध्यपूर्वमा तनाव बढेको थियो । त्यसपछि इरानले पनि प्रतिआक्रमण गरेको थियो । अप्रिलमा भएको युद्धविरामपछि वार्ता जारी छ ।

ट्रम्पले इरानलाई आणविक हतियार विकास गर्न नदिने अमेरिकी अडान दोहोर्‍याएका छन् । साथै, सम्झौता नभएसम्म इरानी बन्दरगाहमाथिको अमेरिकी नाकाबन्दी जारी रहने बताएका छन् ।