बर्दगोरिया ।कैलालीको बर्दगोरिया गाउँपालिकाले  नि:शुल्क महाप्रस्थान यान संचालनमा ल्याएको छ । पालिका अध्यक्ष कर्ण बहादुर कुवरको सक्रियतामा मानिसको स्वर्गारोहणपछि पार्थिव शरीरलाई सम्मानसहित दाहसंस्कारका लागि आर्यघाटसम्म लैजान महाप्रस्थान यान संचालनमा ल्याइएको हो ।

पालिकाले संचालनमा ल्याएको महाप्रस्थान यान पालिकाबासीको लागि निशुल्क हुनेछ । पालिकामा शव बोक्ने उपयुक्त वाहन नभएकाले आफन्तको मृत्यु भएर शोकमा डुबेका परिवारलाई सवारीसाधन खोज्न हुने समस्यालाई मध्यनजर गरि पालिकाले निशुल्क महाप्रस्थान यान संचालनमा ल्याएको अध्यक्ष कुवरले बताए । महाप्रस्थान यान गरिव तथा विपन्न परिवारका लागि भने थप महत्त्वपूर्ण सहयोगी हुनेछ ।

शव बोक्न अरुले सवारीसाधन दिन नचाहने र उपयुक्त वाहन नहुँदा शवलाई सम्मानजनक रुपमा आर्यघाटसम्म पुर्याउन स्थानीयले भोगिरहेको समस्यालाई ध्यानमा राखी निशुल्क यान संचालनमा ल्याइएको अध्यक्ष कुवरले बताए ।  परिवारको सदस्य गुमाएर शोकाकुल रहेका बेला पैसा तिरेर भएपनि शव बोक्ने साधन पाउन गाह्रो हुने अबस्था र शव बोक्नका लागि अधिकांशले गाडी दिन नमान्ने कारणले गर्दा जनताको लागि स्थानीय सरकार आर्यघाटसम्म सहयोग गर्न तयार छ भन्ने कुरालाई आत्मसात गरि पालिकाले यो कार्य थालेको उनले बताए ।

यसअघि ट्रयाक्टर र ट्रकमा शव आर्यघाटसम्म पुर्याउने गरिएको थियो। यो यान संचानल सँगै मृत्यु भएको व्यक्तीको शव यात्रा सम्मान जनक ढंगले हुन पाउने उनले बताए । यसैगरी पालिकाले मृतकको काजकिरिया गर्नका लागि जनही १० हजार रुपैयाँ दिने समेत कार्यपालिका बैठकले निर्णय गरेको उनले जानकारी दिए । महाप्रस्थान यानले लम्की चुहाको चिसापानी आर्यघाट, बर्दगोरियाको दमौरी  आर्यघाट, र ६ वटै वडाका विभिन्न आर्यघाटसम्म शव पुर्याउन संचालन हुनेछ ।