जाजरकोट । बर्खायामको बाढीपहिरोले बिग्रिएका ग्रामीण सडकमा यातायातका साधन चल्न नसक्दा यात्रुलाई आउजाउ गर्न समस्या भएको छ ।

CP-HOSPITAL

चाडपर्व नजिकिँदै गर्दा नेपालगन्ज, काठमाडौँ, सुर्खेतलगायतका सहरमा पढ्न बसेका विद्यार्थी, श्रम रोजगारीका लागि भारत गएका सर्वसाधारण गाउँ फर्किन थाले पनि सडकमा यातायातका साधन चल्न नसक्दा गाउँघर पुग्न पैदल हिँड्नुपर्ने बाध्यता छ । आवतजावतमा सहजता ल्याउन खनिएका सडक मर्मत नगर्दा झन् जोखिम बढेको छ ।

नलगाड नगरपालिका–४ का वडाध्यक्ष बद्रीबहादुर पन्तका अनुसार नेपालगन्ज, सुर्खेत, काठमाडौँबाट आउने व्यक्तिले यातायातका साधन नपाउँदा कालीमाटीसम्म पैदल हिँड्नुपर्ने बाध्यता छ । चाडपर्व नजिकिएपछि स्थानीय तहको ढिलासुस्तीका कारण मर्मत गर्न नसकेको उहाँले बताउनुभयो ।

उहाँका अनुसार कालीमाटीदेखि लहँ, भारगाउँलगायत विकट बस्ती पुग्न समस्या हुने गरेको छ । कार्यपालिकाको बैठक बसेको छैन, खाता सञ्चालनसमेत नहुँदा मर्मतको काम अघि बढ्न सकेको छैन । नलगाड नगरपालिका–५, कालीमाटीबाट बारेकोट गाउँपालिकासम्म पुग्ने सवारीसाधन पनि चल्न सकेका छैनन् ।

बारेकोट गाउँपालिका–५ का नवराज शाहीले चाडपर्व आउन केही दिन बाँकी रहे पनि स्थानीय तहको उदासीनताका कारण सडक मर्मत नभएको बताउनुभयो । स्थानीय सरकारले सडकको पहिरो पन्छाउन बेवास्ता गरेपछि जनताले दुःख पाएको गुनासो उहाँले गर्नुभयो ।